नेपालमै पहिलो पटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

 फागुन ६, २०७८ शुक्रबार १०:३६:५१ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरसहित देशका ६६ जिल्लामा भाेलि शनिवारदेखि एकैसाथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ ।

नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलो पटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयम्सेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो।

'मोबाइलमा छिमेकी चरा एप स्वयम्सेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ, उहाँले भन्नुभयो, 'एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयम्सेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।'

पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयम्सेवकमार्फत आधा घण्टा गरिने उहाँले बताउनुभयो ।

'त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निर्क्याेल हुन्छ', उहाँले भन्नुभयो, 'स्वयम्सेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।'

स्वयम्सेवक परिचालन गरी एपमार्फत चरा गणनाका लागि दुई महिना अघिदेखि तयारी थालिएको उहाँले जानकारी दिनुभयो । चरा गणनाका लागि एक हजारभन्दा बढी स्वयम्सेवक परिचालन गरिने बताइएको छ ।

यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ । चराको महत्त्व दर्साउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे नागरिकलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया