टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

 फागुन १३, २०७८ शुक्रबार २०:३४:३१ | रासस
unn.prixa.net

कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । कैलालीको टीकापुर विमानस्थलको आज शुक्रवार स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 

मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताउनुभयो । ‘विमानस्थलको अध्ययन समितिले सर्भे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ’, उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रूपमा राखेर काम गर्न सकिन्छ ।’ उहाँले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताउनुभयो । 

‘पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ । यहाँ धेरै सम्भावना छन् । ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौँ’, मन्त्री आलेले भन्नुभयो, ‘विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ ।’

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदान निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो । धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै,नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैंकसँग समन्वय भइरहेको र त्यसका लागि ६५ अर्ब रुपैयाँ बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया