एमसीसी समस्या समाधानका लागि गम्भीरतापूर्वक उपायकाे खाेजी भइरहेकाे छ : प्रचण्ड

 फागुन १४, २०७८ शनिबार १३:४५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भीरताका साथ लागि परेको बताउनु भएको छ ।

अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरुको खोजी गम्भीतारपूर्वक गरिरहेको बताउनु भएको हो । शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कमस खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताउनुभयो ।

एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरुदेखि नै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दाबी गर्नु भयो । अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै फेरि एउटा जनयुद्ध लडनुपर्ने अवस्था आएको बताउनुभयो ।

‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकारहरु खोज्ने षड्यन्त्र भइराखेको छ  भनेर नै अपिल गर्‍यौं र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरि हामीलाई प्राप्त भयो । यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो । त्यहाँ कहिँकतै एमसीसी भन्ने कुरा त थिएन । त्यसैगरी हामीले गठबन्धन सरकार बनिसकेपछि साझा न्यूनतम कार्यक्रममा पनि हामीले कहिँकतै एमसीसीको बारेमा चर्चा गरेका थिएनौं' उहाँले भन्नुभयाे, 'त्यो एउटा यस्तो परियोजना, त्यो बारेमा विवाद, बहस छ । यथास्थितिमा विना संशोधन, विना परिमार्जन, समर्थन गर्न सकिFदैन भन्ने धारणा हामीले प्रष्टसँग राख्दै आएको थियौं । तर आजको दिनमा यो यस्तो खालको विषय बन्न गएको छ कि कहीँ यसैको कारणले गठबन्धननै टुट्ने, फेरि प्रतिगमनकारी शक्ति हावी हुने त होइन ? भन्ने स्थिति बनेको छ । र, यसलाई रोक्नुपर्ने कुनै खालको प्रतिगमनकारी गठबन्धन फेरि अगाडि नआओस् र संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस  भनेर अहिले हामी लागि राखेका छौं । हामीले कहीँ न कहीँ यो गठबन्धन बचाऔं । एमसीसीको पनि समस्या समाधान होस्, गठबन्धन पनि नटुटोस भन्ने कुनै त्यस्तो उपाय छ त भनेर छलफल भइराख्या छ ।'

अध्यक्ष दाहालले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहीन युद्ध जारी राखेको बताउनु भयो । उहाँले उत्पीडित वर्ग, समुदायको हितको रक्षा गर्न राज्य सक्षम नभएसम्म शान्तिपूर्ण संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने पनि बताउनु भयो । 

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया