एमसीसी पारित गराउन साथ नदिने भए सरकार छोड्न प्रचण्डलाई बाबुरामकाे आग्रह

 फागुन १४, २०७८ शनिबार १६:१०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिनुभयो । उहाँले एमसीसी सम्झौंता संसदमा रहेको कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँमा अर्को पार्टी आउने दाबी समेत गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताउनु भयो ।

उहाँले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौता पारित गराउन लागि परेको बताउनु भयो । एमसीसी मुलुकको समृद्धि र विकासका लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो ।  उहाँले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याउनु भयो ।

‘मैले संसदमा पनि र बाहिर पनि प्रष्ट ढंगले भन्ने गरेको छु । यो एमसीसी सहमतीबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आइपर्दैछ । त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ । यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । कोही मान्छे लटरपटर पारेर लौ यो हामी छोडिदिन्छौं, हामी चाँही बाहिर गईहाल्छौं । तपाईं पास गर्नोस् भनेर झिनो मतले अब संसदबाट उपस्थितिको बहुमत । संसदमा ६८ जना भए कोरम पुग्छ । त्यसको आधा ३५ हुन्छ । अनि, ३५ जनाले पारित गर्ने ? यस्तो महत्वपूर्ण मुद्धा, हुँदैन' भट्टराईले भन्नु भयो,   'संसदको अहिलेको संख्या २७५ हो । भलै २७१ संख्या छ । यसको आधा १३८ हुन्छ । १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ । त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ । त्यसो गर्न पाईदैन । मेरो विनम्र आग्रह छ । खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईंले यसलाई साथ दिनोस् १३८ पुर्‍याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाईंदैन ।'

भट्टराईले नेपालले चीन, भारत र अमेरिकालगायतका सबै देशको सहयोग लिएर मुलुकको विकास, समृद्धि र दीगो शान्तिका लागि काम गर्नुपर्ने दोहोर्‍याउनु भयो । उहाँले एमसीसी सम्झौता आफ्ना लागि नभइ राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागि परेको बताउनु भयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया