ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्वसचिवसमेत रहनुभएका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बन्नुभएको थियो । सार्वजनिक सेवा प्रवेश गरेयता अकुत सम्पत्ति आर्जन गरेको अभियोग उहाँमाथि लागेको छ ।
आयोगका अनुसार पूर्वमन्त्री श्रेष्ठ २०३६ कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भइ २०६४ माघ ८ गते अनिवार्य अवकाश पाउनुभएको थियो । यस्तै त्यसअघि उहाँ शिक्षक पदमा २०२६ चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।
आयोगका अनुसार सार्वजनिक सेवामा प्रवेश गरेयता पूर्वमन्त्री श्रेष्ठको आय ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ बराबर रहेको देखिन्छ । त्यस अवधिमा उहाँले ११ करोड ३५ लाख ४४ हजार दुई सय ९४ रुपैयाँ बराबर खर्च गरेको देखिन्छ । यस आधारमा चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बराबरको खर्च तथा लगानीको स्रोत नखुलेको देखिन्छ ।
श्रेष्ठले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि भएको आयोगको भनाइ छ ।
आयोगले पूर्वमन्त्री श्रेष्ठविरुद्ध चार करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति तथा त्याे सम्पत्तिबाट बढे बढाएको चलअचल सम्पत्ति घर, जग्गातर्फ बैंक मौज्दात गरी ६८ लाख ५० हजार नाै सय ५३ रुपैयाँसमेत रोक्का राखी जफत गर्न र अपुग बिगो तीन करोड ७६ लाख ७६ हजार सात सय १३ रुपैयाँ र त्यसको कानुनअनुसार हुन आउने ब्याजसमेत आरोपितको नाममा रहेको घर जग्गा जमिन रोक्का राख्नका लागि आयोगले माग गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
आयोगले पूर्वमन्त्री श्रेष्ठको श्रीमती सरस्वती श्रेष्ठको नाममा रहेको जग्गामा बनेको घरसमेतको स्रोत पुगेको सम्पत्तिसमेतबाट असुल गर्न माग गरिएको छ । आयोगले सरस्वती श्रेष्ठ, सरोज श्रेष्ठलाई प्रतिवादी कामय गरी उनीहरूकाे नाममा रहेको घर जग्गा तथा बैंक खातासमेत रोक्का राखी जफत गर्न माग दाबी गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।