अमेरिकी साँढे नेपाल ल्याइयो

 फागुन १५, २०७८ आइतबार १९:१:८ | रासस
unn.prixa.net

काठमाण्डाै – व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नस्ल सुधारका लागि पहिलो पटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गएकाे शुक्रवार नेपाल ल्याइएको हो ।

विश्व बैंकको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे अहिले खुमलटारमा रहेकाे पशु क्वरेण्टीनमा राखिएको छ । चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिनुभयो । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्ल सुधार भइ देशभरि व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने उहाँँको भनाइ छ । 

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा. भट्टले जानकारी दिनुभयो । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उहाँको विश्वास छ ।  

विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झन्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताउनुभयो । उहाँले भन्नुभयो, सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेश भएर ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस गर्‍याैँ, सम्भव नभएपछि अन्तिममा नयाँ दिल्लीबाट नेपाल वायु सेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ । जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उहाँ बताउनुहुन्छ । 

सुरुमा एक करोड ३० लाख रुपैयाँमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर दुई करोड रुपैयाँ पुगेको उहाँको भनाइ छ । प्रति साँढे १८ लाख रुपैयाँमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झन्डै २६ लाख रुपैयाँ पर्न गएको छ । सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भन्नुभयो, यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाईपालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।  

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलो पटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया