निजी क्षेत्रद्वारा एमसीसी अनुमोदनको स्वागत, नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण उपलब्धि हुने दाबी

 फागुन १६, २०७८ सोमबार १७:१७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी पारित भएकोमा देशको निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपाललगायत संस्थाले आज साेमवार विज्ञप्ति निकालेर एमसीसी पारित हुनु नेपालको पूर्वाधार विकासको लागि सकारात्मक विषय भएको र यसलाई तत्कालै कार्यान्वयनमा लैजान मागसमेत गरेका छन् । 

उद्योग वाणिज्य महासङ्घले नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ । सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत् निर्यात एवम् प्रविधि हस्तान्तरणको समेत ढोका खुल्ने र एमसीसी अन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने महासङ्घले जनाएको छ । 

यस्तै उद्योग परिसङ्घले विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसीसी अन्तर्गतका आयोजनाले भूमिका खेल्ने दाबी गरेको छ । ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनबाट देशको आर्थिक विकास, रोजगारी सिर्जना र आमनागरिकको जीवनस्तर सुधार गर्नेतर्फ सबैको सोचको विकास हुनुपर्ने परिसङ्घको भनाइ छ । परियोजनाहरूको कार्यान्वयनसँगै प्राप्त हुने विदेशी विनिमय अहिले नेपालमा विदेशी मुद्रा सञ्चितिको न्यूनता पूर्तिका लागि समेत उपयोगी हुने परिसङ्घको विश्वास छ । 

यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालले एमसीसीमार्फत बन्ने परियोजना ऊर्जा क्षेत्रको बहुप्रतिक्षित परियोजना भएको भन्दै ऊर्जा क्षेत्रको विकास र विस्तारमा मूल समस्याको रूपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने जनाएको छ । साथै यस परियोजनाले पूर्वाधार निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याएर देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने इप्पानको दाबी छ । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया