ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा तीव्र आक्रमण गर्न लागेको चेतावनी दिएको बीबीसीले जनाएको छ ।
विज्ञप्तिमा युक्रेनी सुरक्षा संयन्त्रहरूमा उच्चस्तरको आक्रमण सुरु गर्ने भन्दै सुरक्षा केन्द्रहरूको आसपासका सर्वसाधारणलाई त्यहाँबाट हट्न भनेको छ । युक्रेनीहरूलाई रुसविरुद्ध उक्साइरहेको भन्दै रुसले उक्साहटमा नलागी सुरक्षित ठाउँमा जान भनेको छ । बेलायतको रोयल युनाइटेड सर्भिस इन्स्टिच्युडले रुसका ७५ प्रतिशत सैनिक युक्रेनमा तैनाथ भएको दाबी गरेको छ ।
हिजो साेमवारको वार्ता विफल भएपछि रुसले युक्रेनमा आक्रमण बढाएको छ । खार्किभमा भएको आक्रमणमा एक जना भारतीय विद्यार्थीकाे पनि ज्यान गएको बीबीसीले जनाएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लडिरहने बताउनुभएको छ । उहाँले अहिले युक्रेनमा दुःखद घटना भइरहेको भन्दै आफूहरू आफ्नो भूमि, स्वतन्त्रता र जीवनका लागि लडिरहने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले युक्रेनी बालबालिकालाई निसाना बनाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउनुभयो र भन्नुभयो, ‘युक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रुसका लागि उचित हुनेछ ।’
यसैबीच युक्रेनमा आरोपित युद्ध अपराधबारे अनुसन्धान हुने भएको छ । द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अभियोजनकर्ताले युक्रेनमा आरोपित युद्ध अपराधबारे छिट्टै अनुसन्धान थाल्ने योजना रहेको बताएका बीबीसीले जनाएको छ । युद्ध अपराध र मानवताविरुद्धको अपराध भएको कुरा विश्वास गर्ने पर्याप्त आधारहरू रहेका अभियोजनकर्ता करिम खानले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।