पुल अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्छु : मुख्यमन्त्री राई

 फागुन १८, २०७८ बुधबार २०:३१:५३ | रासस
unn.prixa.net

सङ्खुवासभा – प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटकाे अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताउनुभएको छ । अरुण नदीमा निर्माण हुन लागेको पक्की पुल आज बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण थालिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । 

स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको पुल निर्माण विभिन्न कारण देखाउँदै बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र भएको छ । विसं २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ । 

लम्सुवाघाटको अरुण नदीमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्न सम्झौता भए पनि अहिलेसम्म ३० प्रतिशत मात्र काम सकिएको छ । अलपत्र पुलको अनुगमन गर्दै मुख्यमन्त्री राईले डिजाइनअनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कारबाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने बताउनुभयो । अहिलेको अवस्थामा यहाँ पुल बन्न नसक्ने भएका कारण नयाँ ठेक्का गर्ने वा ठाउँ परिवर्तन गर्ने भन्ने चाँडै निष्कर्ष निकालिने मुख्यमन्त्री राईले बताउनुभयो । 

स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुस १३ गतेसम्म म्याद थप गरेको थियो । १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुलमा अहिलेसम्म तीन करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ । पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको जनाएको छ  । 

लामो समय निर्माणकाे काम रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अनुगमनमा सङ्खुवासभा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायतको उपस्थिति थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया