पेट्रोल लिटरकाे १ सय ५० मा बेच्दा पनि निगमलाई अझै १६ रुपैयाँ घाटा, कर्मचारीकाे पाेसाक भत्ता कटाैती

 फागुन २०, २०७८ शुक्रबार ७:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य हिजाे बिहीवार मध्यरातिदेखि लागू भएको छ । निगमले हिजो बेलुका भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्य सूची सार्वजनिक गरेको थियो ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर पाँच–पाँच रुपैयाँ मूल्य बढेको छ । नयाँ मूल्यअनुसार काठमाण्डौ उपत्यकामा पेट्रोल अब प्रतिलिटर एक सय ५० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ३३ रुपैयाँ पर्नेछ । 

पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दो छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७८ पैसामा खरिद गरेको पेट्रोलमा ५९ रुपैयाँ ४८ पैसा कर लाग्दै आएको छ । त्यस्तै ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजलमा ४२ रुपैयाँ १६ पैसा कर लाग्छ । ८८ रुपैयाँ ८३ पैसामा किनिएको मट्टीतेलमा १३ रुपैयाँ ३६ पैसा र १६ सय ४१ रुपैयाँ २३ पैसामा किनेको ग्यासमा दुई सय ८० रुपैयाँ ३० पैसा कर लाग्दै आएको छ ।

करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ । 

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कच्चा पदार्थको मूल्य बढेको छ । त्यसको असर नेपालमा पनि परेको हो । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय अमेरिकी डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् रहेको निगमले जनाएको छ । अहिले ग्यास प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पर्छ । 

आयाल निगमका कर्मचारीको पोसाक खर्च कटौती

नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोसाक खर्च कटौती गरेको छ । निगम सञ्चालक समितिको बैठकले कर्मचारीको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोसाक संरक्षण भत्ता पाउने छैनन् । पोसाक संरक्षण खर्च कटौती भएपछि वार्षिक झन्डै ५० लाख रुपैयाँ खर्च घट्ने निगमले जनाएको छ ।

यस्तै निगमले बिक्रेता कमिसन पनि अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । 

यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । बिक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको झन्डै ३ दशमलव ३९ प्रतिशत कमिसन पाउँदै आएका छन् । 

पेट्रोलियम पदार्थको मूल्य बढाए पनि आउँदो १५ दिनमा झन्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • [email protected]

    March 5, 2022, 9:22 p.m.

    डाइरेक्टर चाहिं एम बि ए टप्परलाई नै बनाउनुपर्छ /

  •  0 Reply
  • गणेश दाहाल

    March 4, 2022, 7:26 p.m.

    पेट्रोल प्रति लिटर ९३ रुपियाँमा किनेर १५० मा बेच्दा कसरी आयल निगम घाटामा जान्छ् ????

  •  0 Reply

तपाईको प्रतिक्रिया