बेनी–जोमसोम सडक अवरुद्ध तीर्थयात्री र पर्यटकको बिचल्ली

 भदौ २९, २०७५ शुक्रबार ११:२०:५३ | रासस
unn.prixa.net

मुस्ताङ – बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । 

सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । 

दर्जनाैँ ठाउँमा पहिरा जानुका साथै हिलो, कटान र बाढीले सडक अवरुद्ध बनाएपछि यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । म्याग्दीको रुप्से र मुस्ताङको घाँसादेखि लेते सडक खण्डको धेरै ठाउँमा अवरुद्ध भएकोे छ । 

छयत्तर किलोमिटरको उक्त सडकमा गाडीबाट यात्रा गर्न सर्वसाधारणलाई तीन दिनसम्म लागेको स्थानीयबासीको गुनासो छ । यसैबीच सडक अवरुद्ध बनेपछि अलपत्र बनेका भारतीय तीर्थयात्रीलाई बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ । 

प्रभु एयरको हेलिकप्टरले दानादेखि बेनी ल्याएर करीब एक सय भारतीय तीर्थयात्रीको उद्धार गरेकोे दानाबाट स्थानीयवासी इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या भएकाले कृषक निराश बनेका छन् । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका लागि ल्याइएका डोजर परिचालन गरेर सडक मर्मतको काम गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले केही दिनलाग्ने आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो । पहिरोले लेते खोला नजिकै करीब दश मिटर सडक बगाएको छ भने बेलिब्रिज कटानको जोखिममा परेको छ । 

कुन्जोमा स्वास्थचौकी तथा आमा समूहको भवन पूर्णरूपमा क्षति पुगेको छ । थासाङ गाउँपालिका–२ सौरुमा बाढीले दश घरमा क्षति पुर्‍याएकाे गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताउनुभयो । पहिरो पन्छाएर सडक मर्मत र पहिरो प्रभावितको व्यवस्थापनका लागि पहल गरिएको प्रतिनिधिसभा सदस्य पे्रमप्रसाद तुलाचनले बताउनुभयो । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया