मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

 फागुन २०, २०७८ शुक्रबार १६:४७:२८ | रासस
unn.prixa.net

फाइल तस्बिर

झापा - मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य अहिलेसम्ममा १२ प्रतिशत मात्र सम्पन्न भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ ।

धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडक खण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताउनुभयो । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्री श्रेष्ठ–मोतिदान जेभी काठमाण्डौले लिएको छ ।

तीन प्याकेजमा ठेक्का लिएको जेभीले अहिलेसम्म कुल भौतिक प्रगतिको १२ प्रतिशत रहेको जनाएको छ । सडक निर्माणमा विभिन्न समस्या आइरहेका कारण पनि काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ । उहाँले राजमार्गस्तरको सडक भनिए तापनि अहिलेसम्म सडक सीमा निर्धारण नहुँदा जग्गा अधिग्रहण हुन नसकेको, सडक सीमाको जग्गाको भूस्वामित्व जनताकै नाममा रहेको हुँदा सडक निर्माणको सीमा सुरक्षामा कठिनाइ रहेको बताउनुभयो ।

सूचना अधिकारी शर्माले सडक क्षेत्रभित्र पर्ने रुख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदासमेत निर्माण कार्यमा ढिलो भइरहेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएको योजना आ.व २०८१/०८२ मा सम्पन्न गरिसक्नुपर्नेछ ।

यो सडक तीन खण्डमा निर्माण हुने गरी ठेक्का सम्झौता भइसकेको छ भने बाँकी खण्डको डीपीआर सक्किएर ठेक्का लगाउने तयारी छ । पहिलो खण्ड पूर्वको प्रस्थान बिन्दु झापाको मेचीडाँगीदेखि बुद्धशान्तिको शान्तिनगरसम्मको १० किलोमिटर रहेको छ । सङ्घीय सरकारको बजेटबाट निर्माण हुने यो राजमार्ग दुई लेनको हुनेछ । बहुवर्षीय योजनाअनुसार यो राजमार्ग बन्न लागेको हो । 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीका नाममा बनाइने यो राजमार्ग पूर्वको झापादेखि धरानको चतरा, उदयपरुको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा सुर्खेतको बोटचोर, डोटीको सिमचोर, बिपीनगर, कैलालीको सहजपुर, हुँदै डडेलधुराको बुडर जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ।

याे सडक खण्डको ३१ वटा पुलको निर्माण कार्य भइरहेको उहाँको भनाइ छ । यस सडक खण्डमा ११ ठूला पुल  छन् । ती पुलको निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया