देखिनै छोडे डोको, डालो, थुन्से र भकारी...

 फागुन २१, २०७८ शनिबार १९:३४:३० | रासस
unn.prixa.net

म्याग्दी - प्लास्टिकजन्य सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् ।

केहीवर्ष अघिसम्म गाउँघरमा  कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले  पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुर्याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

तर, पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा पनि  कच्चापदार्थको अभावका कारण यो व्यवसाय लोप हुँदै गएको बेनी नगरपालिका– ३ का भविन्द्र विकले बताउनुभयो । उहाँका अनुसार गाउँगाउँमा गाडी सञ्चालन हुन थालेपछि बाहिरबाट आएका प्लास्टिक तथा अन्य धातुका सामग्रीको प्रयोग, बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामग्री नपाउँदा पेसा सङ्कटमा परेको हो ।

डेढ दशक अघिसम्म बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्नो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए । म्याग्दीकाे बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका  विभिन्न ठाउँमा यही पेसाका भरमा जीविकोपार्जन गर्दै आएका कैयौँ व्यक्ति अहिले पेसा परिवर्तन गर्न बाध्य भएका छन् । 

'बाँस र निगालो पाउन छाडेपछि आय–आर्जनको बाटो बन्द भएको छ', मालिका गाउँपालिका–२ रुमका तुलबहादुर विकले भन्नुभयो, 'परिवार पाल्न धौधौ भएको छ ।' बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएपछि समस्या उत्पन्न भएको  उहाँले बताउनुभयो ।

गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्ने किसानको सङ्ख्या पनि घट्दै गएको बेनी नगरपालिका– २ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।

'गाउँघरमा गोरुबाट गर्ने काममा ट्र्याक्टर प्रयोग गर्न थालिएको छ, अन्न राख्नका लागि बजारबाट ड्रम वा प्लास्टिक र स्टिलका  भाँडा ल्याएर प्रयोग गरिन्छ, अब बाँस, निगालाबाट बुनेका सामग्री त लोप नै भइसकेका छन्', कार्कीले बताउनुभयो ।

टाढाबाट कच्चापदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागतखर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको उनीहरुको गुनासो छ । याे समुदायले बाँस र निगालोको चोयाबाट बन्ने प्रति डोकोलाई ३०० देखि ५०० रूपैयाँसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो आठ सयदेखि तीन हजार रूपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित भएपछि केही पाका पुस्ताले सम्हालेको यो पेसा पछिल्लो समय लोप हुँदै गएको हो ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया