ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ्ग भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पार्नुभयो ।
आयोगले स्थानीय तह चुनावका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन) मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरूले फरक–फरक प्रतिक्रिया जनाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताउनुभएको थियो । सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह चुनावकाे मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो । आयोगले २०७४ सालको चुनावमा मतपत्र निलो मसीले छपाइ गरेको थियो ।
मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । स्थानीय तहको चुनावमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो ।
आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उहाँले कसैलाई द्विविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताउनुभयो । मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उहाँले मसी परिवर्तन नहुने सङ्केत गर्नुभयो ।
सहप्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकका काम भइरहेको बताउनुभयो । आयोगले दोहोरिएको मतदाता नामावली हटाउने, नागरिकता त्याग गरेका र मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउनेलगायतका काम गरिरहेको छ ।
निर्वाचन प्रयोजनका लागि आवश्यक २३ प्रकारका निर्वाचन सामग्री खरिदका लागि बोलपत्र प्रक्रिया सम्पन्न भइ आपूर्तिकर्तासँग सम्झौता अगाडि बढेको उहाँले बताउनुभयो । यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली प्राप्त भएको र ती नामावलीमाथि अध्ययन भइरहेको सहप्रवक्ता अर्यालले बताउनुभयो ।
स्थानीय तह चुनावका लागि दल दर्ताको काम भइरहेको र निवेदन प्राप्त ८० राजनीतिक दलका निवेदनमाथि अध्ययन भइरहेकाे छ । आजै आयोगले राजनीतिक दल दर्तासम्बन्धी निर्णय गर्ने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।