ड्रागन खेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन, ‘राजनीति सेवाभन्दा पनि कमिसनखोरी भयाे’

 फागुन २७, २०७८ शुक्रबार १९:३:५८ | रासस
unn.prixa.net

दाङ – पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिलेका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक किसान भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ड्रागन फल को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । अहिले उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, ‘म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।’ मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीको घोराही–तुलसीपुर सडक छेउमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाउनुभएको छ । ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ । तर पनि मेहनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गर्नुभएको छ ।

यसअघि उहाँले दुई पटक फल बिक्री गरिसक्नुभएको छ । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ । ‘अहिले हामीले जति मेहनत यो जग्गामा गरेका छौँ, त्यति मेहनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो’, उहाँले भन्नुभयो, ‘तर यसमै पनि निकै मेहनत हामीले गर्‍यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।’

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि  ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ । यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आउनुभएको छ । अहिलेसम्म उहाँले दुई पटकमा गरेर सरदर २०–२० लाख रुपैयाँ आम्दानी गरेको बताउनुहुन्छ । एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै पाँच लाख रुपैयाँ जति आम्दानी भएको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो ।

उहाँपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुई पटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘बजार राम्रो छ, यहाँबाट काठमाण्डौलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन ।’ झन्डै एक करोड रुपैयाँ लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । उहाँले तीन जनाको सहकार्यमा यो खेती सुरु गरेको बताउनुभयो ।

यसअघि पनि उहाँ कालो धानको खेती गरेर चर्चामा आउनुभएको थियो । भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आउनुभएका उहाँ दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा हुनुहुन्छ । दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उहाँ बताउनुहुन्छ । उहाँले नयाँ पुस्ताका युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताउनुभयो । ‘अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ’, उहाँले भन्नुभयो, ‘तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ ।’ आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताउनुभयो ।

छुटेन ‘लत’

राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाड्नुभएको छैन । उहाँ राजनीतिलाई नजिकबाट नियालिरहनुहुन्छ । यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उहाँले दिने अभिव्यक्तिले पनि प्रष्ट हुन्छ । समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन् । यद्यपि उहाँ भन्नुहुन्छ, ‘अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेसा भनेको कृषि नै हो ।’ कृषिलाई राजनीति अडिने घरका रूपमा वर्णन गर्नुहुन्छ विष्ट । उहाँले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिनुभयो । ‘अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो’, उहाँले भन्नुभयो, ‘जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ ।’

भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ, यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन रहेको उहाँ बताउनुहुन्छ । राजनीतिविनाको कृषि र कृषिविनाको राजनीति सम्भव नहुने उहाँ बताउनुहुन्छ । ‘म अब सक्रिय राजनीतिमा आउँदिनँ’, उहाँ भन्नुहुन्छ, ‘मेरो पार्टी भनेको यही कृषि पार्टी हो ।’ सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उहाँले अन्य विकसित देशले पनि राजनीति गर्ने तर कृषि पेसालाई नछाडेको अवस्था छ, तर नेपालमा उल्टो भएको बताउनुहुन्छ । 

‘राजनीति सेवा हो’

आजीवन राजनीति गर्ने प्रवृत्तिको उहाँ विरोधी हुनुहन्छ । राजनीति भनेको आजीवनको पेसा नभइ यो आवधिक हुने बताउनुहुन्छ । भन्नुहुन्छ, ‘राजनीति भनेको आजीवनको पेसा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो ।’ राजनीति भनेको निःशुल्क, निःसर्त, निःशुल्क हुने बताउनुहुन्छ । तर अहिले त आफूविना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताउनुभयो । 

विष्ट दुई पटक मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ । पहिलो पटक स्वास्थ्य मन्त्री हुनुभएका उहाँ दोस्रो पटक पर्यटन मन्त्री हुनुभएको थियो । माओवादीको १० वर्षे जनयुद्ध सुरुवात गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुनुहुन्छ उहाँ । जतिबेला उहाँलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो । आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उहाँ बताउनुहुन्छ । ‘मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०–२२ वर्ष बाँचुला’, उहाँले भन्नुभयो, ‘अब मैले सचेत ढङ्गले राजनीति छाड्नुपर्छ, भनेर नै यो पेसा अँगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।’

कम्युनिस्ट सदस्य हुने रहर

राजनीति छाडेको भनेपछि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन । अलि बढी क्रान्तिकारी र इमानदारिता देखिएको कम्युनिस्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको । ‘मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओढाइदेलान् नि’, उहाँले भन्नुभयो, ‘त्यही झण्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मकरूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिस्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ ।’ उहाँ राजनीतिप्रति भने वितृष्ण पैदा भएको बताउनुहुन्छ । उहाँले राजनीति समाजसेवाभन्दा पनि कमिसनखोरी भएको बताउनुभयो ।

त्यत्तिमात्रै होइन, राजनीतिमा षड्यन्त्रमय, रहस्यमय हुने गरेको उहाँको अनुभव छ । विष्ट भन्नुुहुन्छ, ‘पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरूले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो ।’ उहाँले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको बताउनुभयो ।

अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ भनी धेरैले आग्रह गर्ने गरेको बताउनुभयो । तर उहाँलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन । त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उहाँ बताउनुहुन्छ । ‘निर्वाचन नै लड्दा चार–पाँच करोड रुपैयाँ खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन’, उहाँले भन्नुभयो, ‘हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा सङ्गठन निर्माण गरेका थियौँ तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन ।’ 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया