अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पार्‍याे : मन्त्री शर्मा

 फागुन २९, २०७८ आइतबार १३:२१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको छ । आज आइतवार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले अर्थतन्त्रमा देखिएको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनुभएको हो ।

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध तथा केही वस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सीमित समयको यस प्रकारको व्यवस्था लागू गरिएको उहाँले बताउनुभयो । मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पार्नुभयो । भन्सारमा पछिल्लो समय वैधानिक बाटोबाट भन्दा पनि अवैध बाटोबाट वस्तु आयात हुने गरेको मन्त्री शर्माले बताउनुभयो । उहाँले अवैध आयात रोक्नका लागि भन्सार विभाग मात्रै नभएर सरकारका सबै निकायले अनुगमन गर्नुपर्ने बताउनुभयो ।

अर्थ मन्त्री शर्माले भन्सारमा व्यापार सहजीकरण गर्नका लागि नीतिगत व्यवस्थाहरू स्पष्ट नभएकाले स्पष्ट नीति आवश्यक भएको बताउनुभयो । उहाँले पछिल्लो समय निर्यातमा केही वृद्धि भएर एक खर्ब ३१ अर्ब रुपैयाँ पुगे पनि कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत पुगेको बताउनुभयो । अब सरकारले विभिन्न नीति योजनाहरूमार्फत हरेक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ । सरकारले हरेक वर्ष १० प्रतिशत निर्यात नबढाए देशकाे व्यापार घाटालाई कम गर्न र अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन नसकिने मन्त्री शर्माको भनाइ छ ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘पछिल्लो समय निर्यातमा केही वृद्धि भएको छ । एक खर्ब ३१ अर्बको निर्यात भए पनि आयातको तुलनामा निर्यात कम छ । हामीले हरेक वर्ष कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत माथि पुर्‍याउन कोसिस गरिहका छौँ । हाम्रो नीति, योजनाहरूमार्फत हरेक वर्ष ५० प्रतिशत नपुग्दासम्म १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै जानुपर्ने आवश्यकता छ । त्यो नगरि हाम्रो व्यापार घाटालाई कम र अर्थतन्त्रलाई सन्तुलन बनाउन सक्दैनौँ । त्यस कारण अहिले अर्थतन्त्रमा व्यापार घाटालाई कसरी सन्तुलन गर्ने भन्ने चुनौती हरेको छ । ’

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको पछिल्लो समयमा विभिन्न वस्तु आयातमा प्रतिबन्ध लगाए पनि लक्ष्यअनुसार नै राजस्व सङ्कलन हुने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया