एमसीसीबाट बन्ने प्रसारण लाइनबाट ‘बम आउँछ’ भन्ने भ्रम छरेर केही हुन्न : प्रधानमन्त्री देउवा

 फागुन ३०, २०७८ सोमबार १७:३७:४० | रासस
unn.prixa.net

नुवाकाेट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देशकाे हितमा भएको बताउनुभएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज साेमवार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसदबाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो । 

‘एमसीसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसदबाट पास गराउन पेस गर्नुभएको हो’, उहाँले सांसद भीम रावलप्रति टिप्पणी गर्दै भन्नुभयो, ‘एमसीसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षा मन्त्री हुँदा अनुमोदनका लागि संसदमा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्नेले त्यो समयमा किन राजीनामा नदिएको ?’

सरकारमा हुँदा एमसीसी चाहिन्छ भन्दै संसदबाट पास गर्नुपर्छ भनेर लाग्नेहरू अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । 

उहाँले एमसीसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जति पनि लिनुपर्ने, यस (एमसीसी) को त ब्याजसमेत तिर्नुनपर्ने भएकाले यो देशकाे हितमा छ, अहित केही पनि गर्दैन भन्नुभयो । 

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानुनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गर्नुभयो ।  

‘एमसीसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।’  

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेसका कार्यसम्पादन समितिका सदस्य अजुर्ननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) नेकपा एमालेका केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य हिरानाथ खतिवडालगायतका वक्ताहरूले नयाँ भवनको निर्माणले किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवामा थप गुणस्तरसहित जनतालाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विभिन्न स्रोतबाट जुटाइएको चार करोड ५६ लाख रुपैयाँमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । तोकिएको समयअघि नै निर्माण व्यावसायीले भवनकाे काम सम्पन्न गरेको हो । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया