न्यु बुटवल सबस्टेशनको उद्घाटन, भारतसँग बिजुली व्यापारका लागि थप पूर्वाधार तयार

 चैत ३, २०७८ बिहिबार १७:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिका १३ मा निर्माण गरिएको २२०/१३२ केभी न्यु बुटवल सबस्टेशनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बिहीवार याे सबस्टेशनको उद्घाटन गर्नुभएको हो ।

देशभित्र उत्पादित बिजुलीकाे आन्तरिक खपत एवम् द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवम् वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरूको विस्तार तथा सुदृढीकरणका लागि याे सबस्टेशनको निर्माण गरिएको हो ।

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको बिजुली छिमेकी देशहरूमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रूपमा अगाडि बढिरहेको बताउनुभयो । रुस र युक्रेनबीचको युद्धले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध बिजुलीकाे खपत बढाउन आग्रह गर्नुभयो ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यु बुटवल सबस्टेशन बनेपछि भारतसँग बिजुली व्यापारका लागि थप पूर्वाधार तयार भएको बताउनुभयो ।

नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा झन्डै नाै करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिँदै सबस्टेशन निर्माणबाट विद्युत् प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताउनुभयो । उहाँले ऊर्जालाई प्रतिस्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत् हब बन्न सक्ने बताउनुभयो ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशनबाट स्थानीय क्षेत्रमा बिजुली आपूर्तिका लागि अर्को ३३/११ केभीको सबस्टेशन निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले नेपालको विद्युत् महसुल सस्तो रहेको र मागेजति बिजुली उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरू खोल्न आग्रह गर्नुभयो ।

एसियाली विकास बैक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख रुडिभान डेयलले सबस्टेशन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गर्नुभयो । उहाँले स्वच्छ, विश्वसनीय र गुणस्तरीय बिजुली आपूर्तिका लागि सबस्टेशनको ठूलो योगदान रहने बताउनुभयो ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली म्यादीको दानाबाट सुरु हुने कालीगण्डकी किरडोर २२० केभी प्रसारण लाइन हुँदै न्यु बुटवल सबस्टेशनमा ल्याइ राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

नेपाल सरकारको लागानी, नर्वेको अनुदान र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सबस्टेशनको निर्माण गरिएको हो । सबस्टेशन निर्माणका लागि ८ नेभेम्बर २०१७ मा झन्डै एक अर्ब आठ करोड रुपैयाँमा भातरकाे टाटा प्रोजेक्ट लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । निर्माण कार्य एक अर्ब पाँच करोड रुपैयाँमा २३ नेभेम्बर २०२१ मा सम्पन्न भएको थियो
। 

नेपाल र भारतबीचको बिजुली व्यापारका लागि दोस्रो क्रसबोर्डर प्रसारण लाइन पनि याे सबस्टेशनबाट सुरु हुने छ । नेपाल र भारतबीच बिजुली व्यापारका लागि न्यु बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि लगानी तथा कार्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । झन्डै २० बिघा जमिनमा निर्माण हुने न्यु बुटवल धनुषाको ढल्केबर सबस्टेशनपछिको दोस्रो ठूलो विद्युत् हब बन्नेछ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत दिने अनुदानबाट न्यु बुटवलमा ४०० केभीको अर्को सबस्टेशन पनि बन्ने छ । एमसीसीले तनहुँको दमौलीबाट न्यु बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्नेछ । बर्दबाट–न्यु बुटवल २२० केभी र न्यु बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया