समय सीमित छ, गर्नुपर्ने काम धेरै छ : मन्त्री झाँक्री

 चैत ४, २०७८ शुक्रबार १८:३६:० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो । 

मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ ।’

मन्त्री झाक्रीले राष्ट्रिय सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै यसले सङ्घीयताअनुसारका सहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने बताउनुभयो । उहाँले नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको र सीमित स्रोत साधनमा काम गरिरहेको बताउनुभयो । ‘विकास निर्माणका धेरै आयोजनामा काम भइरहेका छन्, हामीसँग सीमित बजेट हुँदा धेरै काम गर्न सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो । 

छलफलमा एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक केनिचि योकोयामाले मन्त्रालयसँग आफू सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै नेपालले समयमै काम सक्नमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुजरात मोडलअनुसार अब बन्ने सहरीकरणका परियोजना बनाउन सुझाव दिनुभयो । अहिले एडीबीको लगानीमा नेपालमा भइरहेका कामको समीक्षा र भविष्यमा लगानीको सहकार्य गर्न सकिने क्षेत्रबारे कार्यक्रममा छलफल भएको सहसचिव तथा मन्त्रालयका प्रवक्ता रवीन्द्र बोहराले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया