माथिल्लाे अरुणमा लगानी डुब्छ कि भनेर डराउनु पर्दैन : मन्त्री शर्मा

 चैत ९, २०७८ बुधबार १४:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले माथिल्लाे अरुण जलविद्युत् परियाेजनामा लगानीकर्ताहरूले लगानी डुब्छ कि भनेर डराउनुनपर्ने बताउनुभएकाे छ । उहाँले यो परियोजना सरकारको लगानी भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । 

आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयाेजना गरेकाे बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले परियोजनाका लागि लगानी कोषले मात्रै एक खर्ब रुपैयाँ लगानी गर्न तयार रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आयोजना घाटामा गएर लगानी डुब्छ कि भन्न पाइयो तर त्यस्तो हुँदैन । सरकारकै लगानी हो । त्यसैले त्यस्तो हुँदैन भन्ने लगानी गर्ने संस्थाहरूलाई विश्वास दिलाउन चाहन्छु । तपाईँहरू ढुक्कसँग लगानी गर्नुहाेस् । यसमा सञ्चय कोष, बैंक, बीमा संस्थानसँग पैसा छ । धितोपत्र, नेप्सेलाई पुँजी निर्माण गर्नुहाेस् भनिएको छ । पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । पैसा छ । हाम्रो पैसाको समस्या होइन । हाम्रो समस्या सही योजना, व्यवस्थापन र समयको सदुपयोगमा समस्या हो । यो देशकै समस्या हो । राजनीतिक रूपमा व्यवस्थापकीय समस्या हो । यी सबै विषयमा वृद्धि विकास गर्नुपर्छ ।’

मन्त्री शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताउनुभयाे । उहाँले सरकार माथिल्लो अरुण मात्रै नभएर अरुणसँगै बुढीगण्डकी, मुगु, कर्णालीलगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘माथिल्लाे अरुणका लागि लगानीकाे समस्या हाेइन । यसका लागि लगानी हाम्रा भएका संस्थानहरूबाट नभए अन्तबाट खोजेर भए पनि ल्याउन सकिन्छ । हामी यसरी काम गर्छाैँ भन्ने बलियो प्रतिबद्धता चाहिन्छ । त्यसका लागि स्पष्ट नीति पनि चाहिन्छ ।’

अब कसैसँग ऋण लिँदा जुन परियोजनाका लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने अर्थ मन्त्री शर्माको भनाइ छ । उहाँले मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयवासीको समेत लगानी रहने गरी शेयर संरचना तयार पारिने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया