मोटर गुडे, पाइलाका डोब मेटिए...

 चैत १०, २०७८ बिहीबार १३:३०:१४ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी - गोरेटो बाटामा स्याउलाले बारेका र खरले छाएका छाप्रे चिया पसल । एक मोहोर तिरेपछि एक गिलास चिया पिउन पाइने । मान्छेको कोलाहल र खच्चर हिँड्दा घाँटीमा झुण्ड्याइएका घण्टी बजेपछि आउने चर्को आवाजले बिहान ४ बजेदेखि नै गुञ्जायमान हुने बाटो र  सुरु हुने बाटाको दायाँबायाँ बनाइएका अस्थायी छाप्रामा घुम्ती व्यापारीको दिनचर्या। 

चालीस/पचास वर्षअघि यस्तै अवस्था थियो । सरकारी कर्मचारी, गाउँका साहु महाजन र मुक्तिनाथ दर्शनका लागि आएका धनीमानी व्यक्ति घोडामा हिँड्थे। भरिया, तीर्थयात्री र मजदुरी गर्न ओहोरदोहोर गर्ने व्यक्ति पैदलमा हुन्थे र पिठ्युँमा डोकाभरिको सामान बोक्थे । भरिया र ढाक्रेहरू भारी बोकेर हिँड्दा हिँड्दै जहाँ रात पर्छ त्यही भारी बिसाउँथे । पाए ठाँटी, नपाए चौतारी वा रुखको फेदमा नै खाना पकाएर खान्थे र  सुत्थे । खल्तीमा पैसा हुने र घोडामा रहेकाहरू होटलमा बास बस्थे ।

यो अहिलेको बेनी–जोमसोम सडक बन्नुभन्दा पहिलाको वास्तविकता हो जति बेला म्याग्दी र मुस्ताङमा कुनै पनि सडक खनिएका थिएनन् तर अहिले यहाँको अवस्था फेरिएको छ । पैदल हिँड्ने बाटाको नामोनिसान छैन । फराकिलो सडक बनेको छ । सडकमा मोटर गुडेका छन् तर पुर्खाका पाइलाको डोब मेटिएका छन्।

उहिले बेनी नेपाल–भोट व्यापारको प्रमुख नाका थियो । बेनीमा बजार विस्तार भइसकेको थिएन । खर र ढुङ्गाले छाएका केही घर मात्र थिए । अस्थायी मण्डी र साप्ताहिक हाटबजार लाग्ने गर्थ्याे। त्यही मण्डी र हाटबजारमा खरिदबिक्री गर्न बुटवलबाट स्याङ्जाको सेती दोभान र पर्वतको कुस्मा हुँदै सामान आयात गरिन्थ्यो । म्याग्दी र मुस्ताङमा दैनिक उपभोग्यदेखि निर्माण सामग्री पुर्याउनका लागि प्रयोग हुने मुख्य नाका नै बेनी बजार रहेको त्यतिबेलाका जानकार बताउँछन् ।

मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँका अनुसार बेनी बजार १७ औंँ शताब्दीमा स्थापना भएको हो । विसं १६३१ मा पर्वत राज्यको विखण्डन भयो । सोह्र हजार पर्वत सामेल रहेको पर्वत राज्यबाट गलकोट र कास्की राज्य अलग भए । राजा राजबम मल्लले पर्वत राज्य सम्हाले । उनैले आफ्नो राज्यभित्रका नागरिकको आर्थिक उपार्जनको बाटो र राज्य सञ्चालनको खर्चको खोजी गर्दा बेनीले व्यावसायिक यात्राको सुरुआत गरेको बानियाँले आफ्ना कृतिमा उल्लेख गर्नुभएको छ । 

तत्कालीन समयमा बेनी बजार चौबाटामा पर्थ्याे । मुस्ताङ, बाग्लुङ र रुकुमको चौबाटो पर्ने भएकाले राजा राजाबमले व्यापारको अक्कल लगाए । खानी सञ्चालनमा आए । ज्यामरुककोटबाट ल्याइएका कालीगढले तामा र फलाम निकाल्न थाले । तामा र फलामबाट सुरु भएको बेनीको व्यापार सुन, नुन र ऊन हुँदै अहिले सूचना प्रविधि र विकासनिर्माणका सामानको व्यापारिक केन्द्र नै बनेको छ ।

२०६४ सालमा नेपाली सेनाले साधारण मार्ग खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले । बेनी–जोमसोम सडकका क्षेत्रमा रहेका आधा दर्जन बढी अस्थायी बजार र  पदमार्ग मासिए पनि म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो ।

बेनीबाट भारी बोकेर मुस्ताङ र मुस्ताङबाट नुन र स्याउ बोकेर बेनी ल्याउन पटकपटक ओहोरदोहोर गर्नुभएका बेनी नगरपालिका–२ का ९६ वर्षीय खड्गबहादुर थापा सडक बनेपछि मोटर चढेर एक पटक मुस्ताङ पुग्नुभयो । भरियाको रूपमा पहिला कयौँ पटक मुस्ताङ पुग्नुभएका थापालाई सडकमा गाडी चढेर मुस्ताङ जाँदा अनौठो लाग्यो ।

'त्यस बेलाको कुरा सुनाउने हो भने अहिलेका नयाँ पुस्तालाई पत्याउनै कठिन हुन्छ । चार/पाँच रुपैयाँ भयो भने टन्न खान पाइन्थ्यो । पिठ्युँमा भारी बोकेर बेनी–जोमसोम गर्न एक हप्ताभन्दा बढी लाग्थ्यो । डोको बोकेर हिँड्दै जाने, जहाँ पुग्दा रात पर्छ, त्यहींँ बस्ने गर्थ्याैँ ।  ठाँटी भएका ठाउँमा पुगे त्यही ठाँटीमा नत्र यसो रुखमुनि भारी बिसाउँथ्यौँ,  त्यही भारीको छेउमा निदाएर बिहानै ४ बजे फेरि भारी बोकेर हिँड्थ्यौंँ' थापाले भन्नुभयो ।

उहाँका अनुसार त्यस बेलामा मुस्ताङमा मात्रै होइन, उत्तरी म्याग्दीका विभिन्न गाउँमा भारी बोकेर खाद्यान्नलगायत सामग्री लैजाने भरिया बढी हुन्थे । तिनले चामल, चिनी, चियापत्ती, नुन, तेललगायत सामान बोकेका हुन्थे । नदी किनारबाट मानवीय सभ्यता र बाटाका छेउबाट व्यापारको सुरुआत भएको मानिन्छ । बेनी –जोमसोम सडकको पुरानो अवस्थालाई अध्ययन  गर्ने हो भने कालीगण्डकीका छेउछाउबाट नै थकाली र मगर संस्कृति मौलाएको पाइने बेनीका ८० वर्षीय नैनकुमार श्रेष्ठले बताउनुभयो ।

'मानवीय सभ्यताहरू नदी छेउछाउबाट सुरु भएका छन् । बिस्तारै मान्छेहरू छिरलिएर बस्न थालेपछि ती सभ्यता पनि बसाइँ सरे वा फैलिए', श्रेष्ठले भन्नुभयो, 'समयसंँगै विकास आयो र विकाससंँगै सुविधा । सुविधा पाएपछि मान्छेले सबै भुल्यो, गोरेटो बाटो भुल्यो, चौतारी र ठाँटी बिर्सियो, आफ्ना पुर्खाका पैतालाका डोबलाई फलामे दाँत भएको डोजर लगाएर कोप्यो, सडक बनायो, गाडीमा हुइँकियो ।'

उहाँका अनुसार पहिलो पटक बेनी–जोमसोम सडक बनेपछि भने गाडीमा ओसारपसार र यात्रा हुन थाल्यो । नदी छेउमा मानव सभ्यता विकास भए जस्तै सडक छेउमा बस्ती बस्न थाले अनि सुरु भयो बजारीकरण । पहिलेपहिले ठाँटी, सत्तल र स्याउले बजार रहेका बेनी–जोमसोम सडक क्षेत्रका गलेश्वर, चमेरे, भुरुङ तातोपानी, दाना, लेतेलगायत दर्जनभन्दा बढी ठाउँमा बजार विस्तार भएका छन् ।

यता बेनी बजार विस्तारको कथा भने विकाससंँगभन्दा बढी तत्कालीन राजनीति र ऐतिहासिक पृष्ठभूमिसँंग जोडिएको छ ।  तत्कालीन बाइसे–चौबिसे राजाका पालामा पर्वत राज्यको मुकाम बेनीबजार १७ औँ शताब्दीमा स्थापना भएको हो । अरू बजार नेवार समुदायले सुरुआत गरेको इतिहास रहे पनि बेनी बजारमा व्यापारको  जग विश्वकर्मा समुदायका व्यक्तिले राखेको पाइन्छ । बेनी बजारबाट त्यतिबेला नै तामा, फलाम र धातुको व्यापार सुरु भएको लेखक तथा इतिहासकार बानियाँ बताउनुहुन्छ ।  उहाँका अनुसार अहिलेको म्याग्दीमा पर्ने बेनीबजार सुरुमा बगर थियो ।

'पर्वत बेनीमा पर्ने कालीगण्डकीका तिरबाट व्यापार सुरु भएको हो । पर्वत राज्यमा उब्जाउ हुने जमिन थिएन, आयस्रोत भनेकै व्यापार देखेर राजाले व्यापार गर्न लगाएको पाइन्छ',  बानियाँले आफ्ना कृतिमा लेख्नुभएको छ ।  उहाँका अनुसार पर्वत राज्यका सातौँ राजा मलेबम मल्लले पहिले बेनीबजारभन्दा केही टाढामाथि रहेको दरबार बेनीमा सारे । उनको राजकाज त्यहींँबाट हुन थाल्यो र कर उठाउन थाले । त्यसपछि बेनीको व्यापार थप बढेको थियो । बाइसे–चौबिसे राजाका पाला सबैभन्दा पहिले मुद्राको सुरुआत पर्वत राज्यबाट भएको इतिहास छ । बेनीमा टक्सार (मुद्रा काट्ने यन्त्र) राखेर मुद्राको प्रचलन सुरु गरिएको इतिहास छ ।

करिब पाँच सय वर्षको इतिहास रहेको बेनीबजारले अहिलेसम्म पनि आफ्नो साख जोगाइरहेको छ ।  पैदल हिँडे घोरेपानीको बाटो हो, नत्र बेनी बजार  म्याग्दी, मुस्ताङको एक मात्रै नाका हो ।   पछिल्लो समय जिल्लाका गाउँगाउँसम्म सडक पुगेका छन् । राज्यको पुनःसंरचना भएपछि पालिका मुकाम बनेका छन् तर बेनी बजार भने यी सबै परिवर्तनसँग अनुकूलित हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका भूतपूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ बताउनुहुन्छ । २०१७ सालमा म्याग्दी वेणी र पर्वत वेणीलाई जोड्ने गरी म्याग्दी खोलामा पुल बनेपछि बेनी बजारको व्यापारले गति लिएको श्रेष्ठको भनाइ  छ ।

अहिले पनि बेनी बजारको व्यापारमा कुनै कमी आएको छैन । गाउँगाउँमा बजार विस्तार भए पनि ‘ट्रान्जिट प्वाइन्ट’ भएको हुँदा बेनीबजार सदावहार नै छ । मुस्ताङको स्याउ र च्याङ्ग्राको मुख्य बजार बेनी हो भने म्याग्दी र मुस्ताङको खाद्यान्न पनि बेनीबाट नै वितरित हुने गर्छ । बेनी–जोमसोम खण्डमा पर्ने पोखरे बगर बजारले पनि आफ्नै लय समातेको छ ।

विकासको क्रमसँगै गाउँगाउँमा सडक खनिन थाले । सडकका कारण बजार बन्न थाल्यो र मानिस गाउँ छाडेर बजारमा सर्न थाले जसका कारण ऐतिहासिक नाका र पुराना बजारको मुहार अहिले देख्न नपाइने भए पनि बेनीबजार अपवादका रूपमा रहेको स्थानीयवासी बताउँछन् । बजारलाई विकेन्द्रित गरिएपछि सुनसान बनेका गाउँ हराभरा भएका छन् । बाँझा छाडिएका जग्गामा खेती हुन थालेको छ  । सङ्घीयताको आधार मानिएको विकेन्द्रीकरणको नीतिले गाउँ बजारसंँग जोडिए पनि  तिनको मौलिकता र पुर्ख्याैली पहिचान हराएकामा बुढापाकाले चिन्ता व्यक्त गरेका छन् ।

पुराना बजार र नाकामध्ये कतिपयलाई नयाँ सडकले छोए त कतिपय छलिए । नयाँ मोटर बाटा खनिए पनि जहाँजहाँ पुराना बजारलाई छोएर गएको छ, त्यस ठाउँमा भने परम्परागत बजारका ठाउँमा झनै विकसित र आधुनिक बजार स्थापित भएका छन् तर  जुन नाका र बजार सडकले छुन सकेन, ती विस्थापित भएका छन् । ती ठाउँमा न बजार बसे, न पदमार्ग नै सुरक्षित भए । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया