रुसको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित, ‘दोस्रो विश्व युद्धपछिकै खराब अवस्था’

 चैत १०, २०७८ बिहीबार १८:५६:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले गरेको आक्रमणपछि युक्रेनका आधा बालबालिका विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) का अनुसार युक्रेनका ७५ लाख जना बालबालिकामध्ये ४३ लाख जनाभन्दा धेरै युद्धका कारण घरबाट विस्थापित भएका हुन् । 

विस्थापितमध्ये १८ लाख बालबालिकाले देश नै छाड्नुपरेको र २५ लाख जना युक्रेनकै विभिन्न सहरमा रहेका युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । 

युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले रुसले युक्रेनमा गरेको आक्रमणका कारण दोस्रो विश्व युद्धपछिकै सबैभन्दा धेरै बालबालिका विस्थापित भएको बताउनुभएको छ । अहिलेसम्म ७८ जना बालबालिकाको ज्यान गएको, एक सय पाँच जना घाइते भएको र घरवारविहीन भएका बालबालिका सुरक्षाको खतरामा, भोकमरी, यौन दुर्व्यवहार र बेचबिखनको जोखिममा रहेका उहाँले बताउनुभएको छ । 

युद्धका कारण विद्यालय र स्वास्थ्य संस्थामा क्षति पुग्दा बालबालिका आधारभूत स्वास्थ्य र शिक्षाबाट पनि वञ्चित भएका छन् । रुसी आक्रमणबाट अहिलेसम्म पाँच सयभन्दा धेरै शिक्षण संस्था ध्वस्त भएका छन् । 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युक्रेनका ६ देखि २३ महिना उमेर समूहका चार लाख ५० हजार जना बालबालिका पोषणयुक्त खानाबाट वञ्चित भएको, १४ लाख जनाले स्वच्छ खानेपानी नपाएको र ४६ लाख जना व्यक्ति पानीको सीमित पहुँचमा रहेको वा बन्द हुने अवस्थामा रहेको जनाएको छ । यस्तै बालबालिकाहरू दादुरा, पोलियो लगायतका नियमित खोपबाट पनि टाढा रहेकाले उनीहरूको भविष्यमा समेत चिन्ता उत्पन्न भएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया