वडाध्यक्षद्वारा ५ वर्षको तलब विद्यालयलाई प्रदान

 चैत ११, २०७८ शुक्रबार २०:५०:१५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिनुभएको छ । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिनुभएको हो । 

उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताउनुभएको थियो । वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराउनुभएको हो । उहाँले त्यो रकम विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको हो ।

आफूले कक्षा ६ देखि १० सम्म छात्रवृत्ति पाएर नै पढेको बताउँदै विष्टले सबैका छोराछोरी विद्यालय पढ्न नसक्ने भएकाले छात्रवृत्तिले ठूलो महत्त्व रहेको बताउनुभयो । 

सत्यवादी उच्च माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले अध्यक्ष विष्टलाई धन्यवाद दिनुभयो । विष्ट नेपाली कांग्रेसबाट स्थानीय तहको चुनावमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • किरण अधिकारी

    March 25, 2022, 9:09 p.m.

    नेपाल मा यस्ता मान्छे पनि रहेछन् सलाम छ उहालाई

  •  0 Reply

तपाईको प्रतिक्रिया