चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण

 चैत १२, २०७८ शनिबार २१:१५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको  निर्माण कार्य ९३ प्रतिशत काम सकिएको छ । यसअघि आजै नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री यीसहित दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नेपाल–चीन रेलको सम्भाव्यता अध्ययनसहित नौ वटा समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल र चीनबीच भएका समझदारीहरुमा आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता र सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी रहेका छन् ।

यस्तै, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग तेस्रो चरण मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौँ बैठकको दस्ताबेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई पाँचौँ र छैटौँ खेपमा ४० लाख सिनोभ्याक खोप खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र र चितवनमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी रहेका छन् ।

हिजो नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङले भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । दुई नेतालाई भेटेपछि उहाँ भोलि नै स्वदेश फर्कनुहुनेछ । पाकिस्तान, अफगानिस्तान हुँदै नयाँ दिल्ली पुगेका विदेशमन्त्री वाङ त्यहीँबाट विशेष विमानमार्फत हिजो काठमाण्डौ आउनुभएको हो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया