प्यालेष्टिनी बालबालिकाको पत्र : हाम्रा पूर्वजको चिहानमा खेल्छन् त मेस्सी ?

 जेठ २१, २०७५ सोमबार १५:४५:४० | एजेन्सी

जुन ९ मा अर्जेन्टिनी फुटबल टिमले इजरायलसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

यो खेल अर्जेन्टिनाका  लागि विश्वकपको तयारी खेल हो । यो खेललाई अर्जेन्टिनी नागरिकले ‘लक्की गेम’ का रुपमा हेरेका छन् । 

यो खेललाई ‘लक्की’ यसकारण मानिएको छ कि अर्जेन्टिनाले सन् १९८६ मा इजरायलसँग इजरायलमै मैत्रीपूर्ण खेल खेलेको थियो । त्यतिबेला अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो । 

आउँदो जुन १४ देखि रुसमा विश्वकप फुटबल सुरु हुँदैछ । विश्वकप सुरु हुनुभन्दा पहिले अर्जेन्टिनाले इजरायलसँग मैत्रीपूर्ण खेल खेल्दै आफ्नो मनोबल बढाउन चाहन्छ । 

दक्षिण अमेरिकी नागरिकलाई यो खेलले निकै महत्व राख्दछ भने प्यालेष्टिनी नागरिकलाई भने यस खेलले पुरानो घाउ बल्झाउनेछ । अर्जेन्टिनाले इजरालसँग जेरुसेलमको टेडी कोलेक रंगशालामा मैत्रीपूर्ण खेल खेल्दैछ । जुन रंगशाला मलहामा रहेको छ ।

प्यालेष्टाइनमा आक्रोश

७० वर्ष पहिले भएको अरब–इजरायल युद्धको दौरानमा मलहा तहसनहस भएको थियो । 

यहाँ रहेका प्यालेष्टिनी नागरिकलाई इजरायली सेनाले सन् १९४८ मा लखेट्यो । 

यहाँबाट विस्थापित भएका परिवारबा पछिल्लो पुस्ता अर्थात स–साना बालबालिकाले आइतबार इजरायलस्थित अर्जेन्टिनी दूतावासमा पत्र पठाएका छन् । 

पत्रमा मैत्रीपूर्ण खेल हुन लागेको रंगशाला आफूहरुलाई विस्थापित गरेको बनाइएको उल्लेख गरिएको छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई सम्बोधन गर्दै पत्रमा लेखिएको छ, ‘हामीलाई सुनाइए अनुसार तपाईँ साथीहरुसँग मलहा आउँदै हुनुहुन्छ । त्यो रंगशालामा खेल्न आउँदै हुनुहुन्छ कि जुन हाम्रो गाउँ ध्वस्त गराएर बनाइएको हो ।’

पत्रमा बालबालिकाले आफूहरु मेस्सी त्यहाँ आएकोले खुशी भए पनि आफूहरुको घर भएको ठाउँमा खेल्ने भएकाले दुखी पनि भएको बताएका छन् । सन् १९८६ मा रमत गनमा खेल खेलाइएको थियो । 

‘मेस्सीले हाम्रो मन दुखाउने छैनन्’

पत्रमा लेखिएको छ, ‘हाम्रो खुशी आँसुमा परिणत भएको छ । हाम्रो मन टुटेको छ । यो कति ठिक हो कि हाम्रा हिरो मेस्सी हाम्रै पूर्वजहरुको चिहानमाथि बनाइएको रंगशालामा खेन्ल आउँदैछन् ।’ ९ जुन का लागि तय भएको इजरायल र अर्जेन्टिनाको खेल भैरहँदा प्यालेष्टिनी नागरिकले भने ‘दुःख’ मनाउ गर्नेछन् । पत्रको अन्त्यमा लेखिएको छ, ‘हाम्रा साथीहरुको तर्फबाट हामी भगवानसँग प्राथना गर्छौँ कि मेस्सीले हाम्रो मन दुखाउने छैनन् ।’ अर्जेन्टिनी स्टार मेस्सीले भने पत्रको बारेमा सार्वजनिक रुपमा कुनै प्र्रतिक्रिया दिएका छैनन् । 

मेस्सीको विरोध

इजरायल र अर्जेन्टिनाको मैत्रीपूर्ण खेलको तयारी भैरहँदा इजरायली तथा प्यालेष्टिनी सेनाबीच भने सीमामा झडप भैरहेको छ । 

साथै प्यालेष्टिनी फुटबल संघका अध्यक्ष जिबरिल रजौबले पनि पत्र लेख्दै आउँदो साता हुने भनिएको मैत्रीपूर्ण खेलको विरोेध जनाएका छन् । उनले अर्जेन्टिना, दक्षिण अमेरिकी फुटबल संघ तथा फिफालाई पत्र लेख्दै यो खेल रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो खेललाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरिएको छ । इजरायली सरकार जेरुसेलमा खेल आयोजना गरेर राजनीतिक सन्देश दिन खोजिरहेको छ ।’

रजौबले अरब तथा मुस्लिम देशका करोडौं प्रशसंकलाई मेस्सीको टिशर्ट जलाउन अपील पनि गरेका छन् । इजरायली खेल मन्त्रालयले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया