रुबलमा भुक्तानी नगर्ने देशलाई रुसले ग्यास नदिने, युरोपेली देशलाई असर

 चैत १८, २०७८ शुक्रबार ६:४३:५१ | एजेन्सी
unn.prixa.net

रुसले आजदेखि आफ्नै मुद्रा रुबलमा भुक्तानी नगर्ने देशलाई ग्यास नदिने भएको छ । यसअघि धम्की मात्रै दिँदै आएको रुसले एउटा आदेश पारित गर्दै रुससँग मित्रवत् व्यवहार नदेखाउने देशहरुले ग्यास खरिदको लागि अनिवार्य रुपमा रुबलमै भुक्तानी दिनुपर्ने नियम लागू गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको आदेश अनुसार ग्यास खरिद गर्न चाहनेहरुले आजदेखि रुसी बैंकमा खाता खोलेर रुबल जम्मा गर्नुपर्नेछ । रुसको यो नियमपछि ग्यास खरिद गर्ने युरोपेली देशहरुलाई निकै ठूलो असर पर्नेछ भने युद्धका कारण कमजोर बन्दै गएको रुसी मुद्रालाई राहत हुनेछ । यसले रुसी मुद्रा बलियो बन्ने तथा रुससँग डलर र युरोको सञ्चिती बढ्ने अनुमान छ ।

रुसी निर्णयको प्रतिक्रिया दिँदै जर्मनीले यसलाई ‘ब्ल्याकमेल’ अर्थात जालसाझी गरेको आरोप लगाएको छ । यस्तै फ्रान्सले रुसी ग्यास कटौती गर्दै जाने बताएको छ भने बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले रुबलमा ग्यास खरिद गर्नु सजिलो विषय नभएको भन्दै विकल्प खोजिने बताउनुभएको खबरमा उल्लेख छ ।

पूरै युरोपमा खपत हुने ग्यासमध्ये ४० प्रतिशत रुसबाट आयात हुने गरेको छ भने डिजल, पेट्रोल लगायतका तेलको ३० प्रतिशत माग पनि रुसले नै आपूर्ति गर्दै आएको छ । गएको फेब्रुअरी अन्तिममा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । अमेरिका र क्यानडाले रुसबाट आयात हुने इन्धनमा कटौती गरेका छन् तर युरोपेली देशसँग भने इन्धनको लागि भरपर्दो अर्को विकल्प नभएकाले रुसी इन्धनमाथि प्रतिबन्ध लगाउन सकेका छैनन् ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया