श्रीलंकामा आर्थिक संकट : राष्ट्रपति भवनमा आक्रमणको प्रयास, राजधानी कोलम्बोमा कर्फ्यु

 चैत १८, २०७८ शुक्रबार ८:१९:३ | एजेन्सी
unn.prixa.net

राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बसलाई प्रदर्शनकारीले ताेडफाेड गरेकाे/एपी न्युज

गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा राष्ट्रपति भवनमा आक्रमणको प्रयास भएको छ । राष्ट्रपतिको गलत नीतिका कारण देशमा आर्थिक संकट आएको र लाखौँ नागरिक आधारभूत आवश्यकताबाट बञ्चित भएको भन्दै सयौँ प्रदर्शनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गर्ने प्रयास गरेका हुन् ।

गएरातिको प्रदर्शन उग्र बनेपछि प्रशासनले राजधानी कोलम्बोमा कर्फ्यु लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रहरीसँगको झडपमा एकजना गम्भीर घाइते भएको र कयौँ मानिस पक्राउ परेका खबरमा उल्लेख छ । निवासमा आक्रमणको प्रयास भइरहेका बेला राष्ट्रपति निवासमा हुनुहुन्नथ्यो । प्रदर्शनकारीले राष्ट्रपति राजापाक्षेको निवास जाने सडकमा रोकिएका सेनाको बस र प्रहरीका गाडीमा आगो लगाइदिएका छन् भने वरपरका घरका पर्खाल समेत ढालिदिएका छन् ।

दुई करोड २० लाख जनसंख्या रहेको श्रीलंका स्वतन्त्र भएयताकै चरम आर्थिक संकटमा रहेको छ । अत्यावश्यक सामग्री खरिदको लागि पनि विदेशी मुद्रा नभएपछि समस्या बढेको छ । पेपर किन्न नसक्दा विद्यार्थीको परीक्षा स्थगित भएको छ, अस्पतालमा शल्यक्रिया पनि प्रभावित भएका छन् । हिजोदेखि डिजलको बिक्री बन्द हुँदा सार्वजनिक यातायात र उद्योग ठप्प भएका छन् । निजी बस कम्पनीले सेवा दिन छाडेपछि सरकारले ग्यारेजमा रहेका पुराना बसको मर्मत गरेर सेवा दिने तयारी भइरहेको छ ।

श्रीलंकामा राष्ट्रपति गोटावाया राजापाक्षेका दाइ चमल राजापाक्षे कृषिमन्त्री हुनुहुन्छ, भाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री, अर्का भाइ बासिल राजापाक्षे वित्त विभागका प्रमुख र भतिज नमल खेलकुदमन्त्री हुनुहुन्छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया