चिनियाँ खाद्य सामग्रीको आयात बढ्यो

 चैत १९, २०७८ शनिबार १५:१२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवागढी नाका

रसुवा – रसुवागढी नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा दुई सय ८४ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । 

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाको तथ्याङ्कअनुसार फूल तथा सागपातजन्य ८५ दशमलव ५३ टन, खाद्यान्न दलहन तथा अन्य ३१ दशमलव ९ टन, मसलाजन्य १४ दशमलव ९३, मासुुजन्य २३ दशमलव ४६, दुग्धजन्य ८ दशमलव २, चिया तथा कफीजन्य ३८ दशमलव ४५ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड विन पेष्ट, डोमा लगायतका ६१ दशमलव ६७ टन खाद्य सामग्री आयात भएको हो । 

गएकाे आर्थिक वर्ष २०७७/७८ मा २ सय ७ टन चिनियाँ खाद्य सामग्री आयात भएको कार्यालयको तथ्याङ्क छ । चीनबाट सोया सस, भिनेगर, अचार, पिठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, चामल आदि सामग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा गएकाे वर्षको तुलनामा खाद्य सामग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाहरूको प्रणालीले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको हो । 

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि फागुन मसान्तसम्ममा कार्यालयले दुई सय ७० थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको छ । गएकाे वर्ष एक वर्षमा दुई सय तीन थान सामग्रीको मात्र परीक्षण भएको थियो । कार्यालयले साउनमा ३१, भदौमा २८, असोजमा ३५, कात्तिकमा ६, मङ्सिरमा २८, पुसमा २५ थान खाद्य सामग्रीको नमुना परीक्षण गरेको हो । आएका सामग्री सबै मापदण्डअनुसारका छन् । ‘कार्यालय स्थापनाको समयमा मापदण्ड पूरा नभएका खाद्य सामग्रीसमेत आउँथे’, उहाँले भन्नुभयो, ‘अहिले गुणस्तरहीन सामग्री आएको छैन ।’ 

कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । कोभिड–१९ भन्दा पहिले दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए । तर अहिले दैनिक १४ वटा चिनियाँ गाडी सामग्री लिएर आउने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया