पाकिस्तानकाे संसद् विघटन, ९० दिनभित्र चुनाव हुने

 चैत २०, २०७८ आइतबार १६:२२:१४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गर्नुभएको छ । आज आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।  

संसद् विघटनसँगै उहाँले आउँदाे ९० दिनभित्र चुनाव गर्ने घोषणा पनि गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री खानले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नुभएको हो । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर चुनाव जान लागिएको उहाँले स्पष्ट पार्नुभयो ।

पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकारविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले चुनावका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नुभएको छ । विपक्षले आफूविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को संज्ञा दिनुभएको थियो ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनुभएको छ । उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

प्रधानमन्त्री खानले प्रतिपक्षी दलका नेताहरूले आफूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया