श्रीलङ्का : नियुक्त भएकाे एक दिनमै अर्थ मन्त्रीद्वारा राजीनामा

 चैत २२, २०७८ मंगलबार १४:१:५३ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो साेमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो । 

साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भने हिजो २६ जनासँगै सामूहिक राजीनामा दिनुभएको थियो, त्यही दिन बेलुका उहाँले फेरि अर्थ मन्त्रीको रूपमा शपथ लिनुभएको थियो । 

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ । डिजल/पेट्रोल नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् । देशमा दैनिक १६ घण्टाभन्दा धेरै लोडशेडिङ सुरु भएको छ ।

अर्थ व्यवस्था बिगारेको भन्दै नागरिकले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्काएपछि राजधानी कोलम्बोसहितका केही सहरमा सरकारले कर्फ्यु लगाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया