मालढुङ्गा–बेनी सडक खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

 चैत २३, २०७८ बुधबार ११:५२:३८ | रासस
unn.prixa.net

म्याग्दी - मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आउँदाे वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो।

गाडीको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालय समक्ष समय व्यवस्थापनको प्रस्ताव गरेको थियो । अहिले तेह्र किलोमिटर लामो सडक स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ ।

सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बाग्लुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । एम्बुलेन्स र विकास निर्माणका अत्यावश्यक गाडीका हकमा सहजीकरण गरिने छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बाग्लुङ–रत्नेचौर–बेनी हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।

एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले सडक निर्माणलाई तीव्रता दिन गाडी आवतजावत रोकेर काम गर्न समय मागिएको बताउनुभयो । 

कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।

२०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भइ निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरी सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गर्दै आएको छ । २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत निर्माण थालिएको सडक २०५२ सालमा सञ्चालनमा आएको हो ।

२०६८ सालमा कालोपत्र भएको मालढुङ्गा–बेनी सडक पछिल्लो समय जीर्ण भएकाे थियो।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया