उदयपुर प्रकरण : छात्राकाे हत्यामा संलग्न सार्वजनिक

 चैत २३, २०७८ बुधबार १८:२८:१९ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – उदयपुरको बेलका नगरपालिकाकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आज बुधवार जिल्ला प्रहरी कार्यालय उदयपुरमा भएको पत्रकार सम्मेलनमा घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो ।

प्रहरीले हत्यामा संलग्न बेलका ३ बस्ने १९ वर्षीय विनोद ढकाललाई सार्वजनिक गरेको हो । यस्तै घटनामा एक नाबालिकको संलग्नता देखिए पनि उनलाई सार्वजनिक गरेको छैन । भारतको सिक्किम राज्य बियुङ घर भएका विनोद गएको एक वर्षदेखि ती नाबालिकको घरमा बस्दै आएका थिए ।

उनीहरूले हिजो मङ्गलवार बिहान ट्युशन पढ्न जाने निहुँमा कवितालाई बोलाएर बाटोमा हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले बताउनुभयो । ‘अभियुक्तहरूले किशोरीलाई बिहानै बोलाइ हत्या गरेका अनुसन्धानबाट खुलेको छ’, एसपी बोहोराले भन्नुभयो, ‘बयानमा समेत उनीहरूले यो कुरा स्वीकार गरेका छन् ।’ 

हत्याको मुख्य योजनाकार नाबालिक रहेको बताइएको छ । मृतक बालिकालाई पछाडिबाट रक्सीको खाली बोतलले टाउकोमा प्रहार गरेको र अरूले थाहा पाउँछ भन्ने डरले पछि ढुङ्गाले हानेर मारेको बयान उनीहरूले दिएका छन् । बालिकाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनामा दोषी ढकाललाई सात दिन र हत्यामा संलग्न बालिकालाई पाँच दिन म्याद थप गरिएको एसपी बोहोराले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया