अमेरिकाद्वारा रुसी राष्ट्रपति पुटिनका छोरीहरुसहित विश्वासपात्रलाई प्रतिबन्ध

 चैत २४, २०७८ बिहिबार ८:४०:४४ | एजेन्सी
unn.prixa.net

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले युक्रेनमा गरेको आक्रमण र बुचा सहरमा भएको घटनापछि पछिल्लो प्रतिबन्ध घोषणा गरिएको हो ।

केही दिन अगाडि युुक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा मानिसका शव रहेकाे दृश्य सार्वजनिक भएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई युक्रेनको स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि लगाइएको थप प्रतिबन्धको स्वागत गर्नुभएको छ । तर यी प्रतिबन्ध पर्याप्त नरहेको जेलेन्स्कीको टिप्पणी छ । उहाँले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

साथै उहाँले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्णरूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताउनुभएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया