संसदमा देखिएकाे समस्या संवादबाटै समाधान हुन्छ : सभामुख

 चैत २४, २०७८ बिहीबार १४:७:६ | रासस
unn.prixa.net

सिन्धुपाल्चाेक – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । 

गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ र ५ जोड्ने मोटरेबरल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गर्नुभयो ।

कोभिड–१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताउनुभयो । जुगल गाउँपालिका–५ को चनौटेमा रहेकाे रत्नराज्य माध्यमिक विद्यालयमा उहाँको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका सभामुख सापकोटाले शिक्षाले नै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

आधुनिक र सुविधा सम्पन्न विद्यालय भवनको सही सदुपयोग गर्न विद्यालय परिवार र सम्बद्ध पक्षलाई सभामुख सापकोटाले सुझाव दिनुभयो । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न रत्नराज्य माध्यमिक विद्यालय देशकै नमुना विद्यालयमध्यको एक हो ।

सभामुख सापकोटा जुगल गाउँपालिका–२ गोल्चे बगरमा रहेकाे वडा कार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी हुनुभयो । उहाँले जनताको भावनाको सधैँ सम्मान गर्ने बताउनुभयो । सभामुख सापकोटाले अहिले स्तरोन्नति भइरहेको बलेफी जलबिरे कात्तिके तेम्बाथान सडक खण्डको बलेफी खण्ड, अहिले मर्मत भइरहेको आँपबोटे जलबिरे खण्ड र कालोपत्रको तयारी भइरहेको ढाँडे कात्तिके खण्डको निरीक्षणसमेत गर्नुभयो । 

बाग्मती प्रदेश पूर्वाधार कार्यालयका प्रमुख राजु श्रेष्ठसहितका सडक निर्माणमा संलग्न अधिकारीसँग निर्माणको अवस्थाबारे उहाँले जानकारी लिनुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया