आज छैटाैँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा

 चैत २५, २०७८ शुक्रबार ८:१६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार अस्पतालले २४ अर्ब रुपैयाँको दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्ब रुपैयाँ भुक्तान गरेको हो । ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय ४५ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमबाट अति गरिब, विपन्न, जटिलखालका अपाङ्गता, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, जटिल क्षयरोगी, कुष्ठरोगी, एचआईभी सङ्क्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रममा आबद्ध हुन तिर्नुपर्ने योगदान रकममा छुट गरी उनीहरुको परिवार सङ्ख्याका आधारमा वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था छ ।

अरु परिवारका लागि वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेको आधारमा उपचार सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ । पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय बुझाएपछि त्यस घरमा रहेका सदस्यले एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क छ ।

पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप सात सय बुझाउनुपर्छ । आज छैटाैँ स्वास्थ्य बीमा दिवस मनाइँदैछ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ नाराका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

उहाँले देश विकासको सूचक नागरिकको स्वास्थ्यसँग गाँसिएको भन्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न लागिपरेको बताउनुभएको छ। 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया