देशकाे अवस्था यस्ताे छ, सरकारले तलब–भत्ता नदिए अनाैठाे मान्नुपर्दैन : अध्यक्ष ओली

 चैत २७, २०७८ आइतबार १८:२५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलङ्काको जस्तै बन्न लागेको टिप्पणी गर्नुभएकाे छ । आज आइतवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तै बन्न लागेको बताउनुभएको हो । 

उहाँले केही समयपछि कर्मचारीले तलब पाएनन् र ज्येष्ठ नागरिकले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्नुभयो । देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनावपछि एमाले ढुङ्गाको काप फोरेर उम्रिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलङ्का बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईँहरूले तलब पाउनुभएन भने अनौठो नमान्नु होला । जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन । योजनाहरू, आयोजनाहरु काटिएका छन् । देश यस्तो अवस्थामा पुग्दा पनि गठबन्धन आनन्दमा छ ।’

एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बरबाद बनाउँदै लगेकाे आराेप लगाउनुभयाे । उहाँले भन्नुभयो, ‘देश बरबाद बनाउँदैछन् गठबन्धनवालाहरूले । अहिले नै अर्थतन्त्र ध्वस्त भइसक्यो । देश एउटा फेल्ड स्टेटतिर जाने अवस्था आउँदै छ । श्रीलङ्काकाे कस्तो भइराखेको छ अवस्था ? कोही विदेश जाने कल्पना नगरे हुन्छ किनभने विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ । कारोबारहरू उतै भुक्तानी हुन्छ । देशभित्र पैसा हुँदैन । चरम भ्रष्टता भएको छ । यो कुरा सरकारमा बस्नेहरू र गठबन्धनवालाहरूले बुझेकै छैनन् ।’

अध्यक्ष ओलीले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरूलाई आग्रह पनि गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया