रेमिट्यान्स र विदेशी पर्यटककाे सङ्ख्या बढाउन पहल गर्नुहाेस् : अर्थमन्त्री शर्मा

 चैत २७, २०७८ आइतबार १९:५१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशमा रहेका नियोग प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

१० भन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आज आइतवार भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘हामीलाई यति बेला विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईँहरूले विशेष भूमिका खेल्नुपर्छ’, उहाँले भन्नुभयो, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड–१९ बाट तङ्ग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरैभन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै यतिमा मात्रै सन्तुष्ट नभइ अझै वृद्धि गर्न सकिने खाँचो रहेको अर्थमन्त्री शर्माको भनाइ छ । ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौँ । रेमिट गर्नेहरुलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’, उहाँले भन्नुभयो । आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।

त्यस क्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरू आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताउनुभयो । त्यस्तै कुन देशमा कस्तो वस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताउनुभएको थियो । यस्तै कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया