राजस्व सङ्कलन १० प्रतिशतले बढ्याे

 बैशाख २, २०७९ शुक्रबार १९:५३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको हो । 

रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा १० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले साउनदेखि चैतसम्ममा पाँच अर्ब १३ करोड १७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पाँच अर्ब ६४ करोड ९९ लाख १५ हजार रुपैयाँ सङ्कलन गरेको छ । पछिल्लो समय चिनियाँ पक्षले आयात बढाएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताउनुभयो । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण २०७६ माघ १५ देखि २०७७ जेठ २२ सम्म रसुवागढी नाका बन्द भएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । 

आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव २०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव २०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार, २०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आव २०७६/७७ मा आठ अर्ब २७ लाख ७७ हजार र गएको आर्थिक वर्ष २०७७/७८ मा तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ ।

रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामान आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातका लागि अनुमति दिएको छैन ।

चीनले रसुवगढीलाई अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दुरी पार गर्नुपर्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया