१५ औँ दरबारमार्ग महोत्सवको तयारी पूरा

 वैशाख २, २०७९ शुक्रबार २०:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा भोलि वैशाख ३ गते काठमाण्डौको दरबारमार्गमा हुन गइरहेको १५ औँ दरबारमार्ग महोत्सवको तयारी पूरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो । 

महोत्सव नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँगको सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको छ । 

सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार बिहान पौने १२ बजे हुनेछ । गीतसङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिसहित यो महोत्सव बेलुका सवा ८ बजेसम्म हुनेछ । 

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू पनि प्रदर्शनीमा राखिने छन् । त्यसैगरी महोत्सवमा महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । साथै सातै प्रदेशबाट विभिन्न जातजातिको सांस्कृतिक नृत्य दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ । 

विश्वभरि महामारीको रूपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । अहिले ९० प्रतिशत बढी जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया