सुगतरत्न कंसाकार भन्छन्, 'राजीनामा दिन्न, ८ महिना आरामले बस्ने हो'

 असोज १, २०७५ सोमबार ८:७:४५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडाैं - नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफूले राजीनामा नदिने बताउनुभएको छ । 

मन्त्रीपरिषदको आइतबारको बैठकले निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेपछि कंसाकारलाई नैतिक संकट परेको छ । खरेल कार्यकारी अध्यक्ष भएर आएपछि अब कंसाकारले उनको माताहतमा रहेर प्रशासनिक काम मात्र गर्नुपर्नेछ । 

तर कंसाकारले भने आफूले राजीनामा नदिने बरु अबका ८ महिना निगममा आरामले जागिर खाने बताउनुभएको छ । "मैले राजीनामा किन दिनु ? , म त राजिनामाको विरोधी मान्छे हो, अब काम गर्ने अर्का हाकिम आउँछन्, बाँकी ८ महिना म त आरामले जागिर खाने हो" महाप्रबन्धक कंसाकारले उज्यालो अनलाइनसँग भन्नुभयो, "मेरा कर्मचारीको साथ छ, मैले केही मान्छेसँग सल्लाह पनि गरें, अहिले राजीनामा दिँदा नराम्रो संदेश पनि जान्छ, त्यसैले तत्काल राजीनामा दिन्न ।" 

आफूले निगममा सुधारको काम गर्दा केही व्यक्तिलाई नपचेको पनि उहाँले बताउनुभयो । उहाँले ट्विटमार्फत सरकारले कार्यकारी पदमा २ जना मान्छे राखेर अफ्ठेरो पारेको पनि बताउनुभएको छ । 

कंसाकारलाई २४ अर्ब रुपैयाँमा वाइडबडी जहाज किन्दा अनियमितता गरेको र निगमको बजार विस्तार गर्न नसकेको आरोप लाग्दै आएको छ । २०७० सालमा महाप्रबन्धक भएका मदन खरेलले त्यही साल राजीनामा दिनुभएको थियो । 

उहाँलाई गएको शुक्रबार सरकारले निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । आइतबारको मन्त्रीपरिषद बैठकले भने खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • dewan sailen

    Sept. 17, 2018, 10:13 a.m.

    काम गर्ने हनुमान, जस पाउने ढेंडु /

  •  0 Reply

तपाईको प्रतिक्रिया