सडकमा बिजुली गाडी बढ्दै, ८ महिनामै १३ सय ५७ वटा भित्रियाे

 बैशाख ५, २०७९ सोमबार १५:४७:५७ | रासस
unn.prixa.net

काठमाण्डाै – केही हप्ता अगाडि नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा बिजुली गाडी खरिद गर्‍याे । नेपालमा बिजुली गाडीको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता गाडी भित्र्याएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती गाडी काठमाण्डाै उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात गरिएको हो । बिजुली गाडी प्रयोग गर्दा बर्सेनि एक करोड रुपैयाँ बराबरको बचत हुने प्रारम्भिक अनुमान गरिएको छ । सरकारी निकायले पनि क्रमशः बिजुली गाडी प्रयोग गरून् भन्ने लक्ष्यका साथ प्राधिकरणले ती गाडीतर्फको यात्रा अगाडि बढाएको हो ।

प्राधिकरणले खरिद गरेको टाटा नेक्शन इभी एक पटक चार्ज गर्दा तीन सय १२ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । काठमाण्डाै उपत्यकामा दुई सय १६ किलोमिटर बराबरको यात्रा गर्न सकिन्छ । त्याे गाडीमा ३० दशमलव २ किलोवाट क्षमताको 'लिथियम आयन ब्याट्री' प्रयोग भएको छ । भारतीय कम्पनी टाटाले उत्पादन गरेको त्याे गाडी नेपालको बाटो सुहाउँदो रहेको बताइन्छ ।

बिजुलीकाे आन्तरिक खपत बढाउनका लागि लागिपरेको प्राधिकरण आफैँले नमुनाका रूपमा बिजुली गाडी चलाउन लागेको हो । आउँदाे मनसुनमा ठूलो मात्रामा बिजुली खेर जाने जोखिम उत्तिकै छ । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षकाे अहिलेसम्म झन्डै दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसलाई केही हदसम्म भए पनि घटाउने लक्ष्यका साथ सरकारले बिजुली गाडी प्रवर्द्धनमा विशेष चासोका साथ काम गरिरहेको छ ।

सडक विभागले पनि केही समयअघि बिजुली गाडी आयात गरेर प्रयोगमा ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि बिजुली गाडीकाे प्रयोग भइरहेको छ ।

बजारमा आधा घण्टामा नै चार्ज गर्न सकिने बिजुली गाडीहरू उपलब्ध छन् । पछिल्ला दिनमा विद्युतीय मोटरसाइकल, स्कुटर उपलब्ध हुन थालेका छन् । अनौपचारिक अध्ययनअनुसार एक सय वटा गाडी गुड्दा सहरी क्षेत्रमा ६ वटा बिजुलीका गाडीको उपस्थिति देखिएको छ ।

वातावरण जोगाउन र मोटो रकम तिरेर आयात गरिने पेट्रोलियम पदार्थको विकल्पमा बिजुली गाडीकाे प्रयोग र प्रवर्द्धनमा जोड दिन लागिएको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल बिजुली गाडीकाे प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र दुवैले मिलेर काम गर्नुपर्ने बताउनुहुन्छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा विश्व बजारमा पर्दा इन्धनको मूल्य अकाशिएको छ । त्यसबाट नेपाल पनि नराम्ररी प्रभावित भएको छ । इन्धनको मूल्य ओरालो लाग्ने सम्भावना कमै देखिन्छ । यस्तो अवस्थामा बिजुली गाडीकाे प्रयोग गर्नुको विकल्प नै सबैभन्दा उत्तम हुन्छ ।

भन्सार विभागको पछिल्लो विवरणका आधारमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा एक हजार तीन सय ५७ वटा बिजुली कार, जीप र भ्यान भित्रिएको छ ।

विभागका अनुसार चीनबाट मात्रै सात सय ५७ वटा बिजुली गाडी भित्रिएको छ । त्यसमा १०० किलोवाट क्षमताका ब्याट्री भएका गाडीकाे सङ्ख्या एक सय एक वटा छ । त्यस्तै १५० किलोवाटदेखि २०० किलोवाट बराबरको ब्याट्री क्षमता भएका  ६ सय ५६ वटा बिजुली गाडी पनि नेपाल भित्रिएकाे छ ।

भारतबाट चार सय २४ वटा, दक्षिण कोरियाबाट विभिन्न क्षमताका एक सय ३२ वटा, अमेरिकाबाट १५ वटा, जापानबाट २८ वटा बिजुली गाडी आयात भएको छ । हाइब्रिडतर्फ (पेट्रोल र बिजुली दुवै) १४ वटा गाडी आयात भएकाे छ । त्यसमा जर्मनीबाट दुई, दक्षिण कोरियाबाट चार, अमेरिकाबाट आठ वटा त्यस्ता गाडी आयात भएकाे छ ।

त्यस्तै नेपालमा नै ल्याएर एसेम्बल गर्ने प्रयोजनका साथ चीनबाट पाँच सय ८४ र भारतबाट एक सय ८० वटा बिजुली गाडी आयात भएको विभागको विवरणमा उल्लेख छ ।

कार, जीप र भ्यानको आयात मूल्य हेर्दा तीन अर्ब ९७ करोड १० लाख ९४ हजार रुपैयाँ बराबर देखिन्छ । ती गाडी आयात गर्दा सरकारले एक अर्ब आठ करोड १६ लाख ३३ हजार रुपैयाँ बराबरको भन्सार राजस्व सङ्कलन गरेको छ ।

यस्तै साझा यातायातले ४० वटा बिजुली गाडी आयात गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । तीमध्ये तीन वटा बिजुली बस नेपाल आइपुगेकाे छ । निजी क्षेत्रको सुन्दर यातायातले काठमाण्डाैकाे चक्रपथमा बिजुली बसमार्फत सेवा दिइरहेको छ । यसबाट देशमा क्रमशः बिजुली गाडीकाे हस्तक्षेप बढ्दै गएको देखिन्छ ।

त्यस्तै सरकारले पेट्रोलियम पदार्थको प्रयोग हुने गाडीलाई बिजुली गाडीमा परिणत गर्न पाउने कानुनी प्रबन्ध गरेको छ । राजपत्रमा सूचना नै प्रकाशित गरेर त्यस्तो व्यवस्था गरिएको हो ।

विश्वव्यापी रूपमा हेर्दा चीनमा सन् २०२१ मा मात्रै ११ लाख ४९ हजार वटा नयाँ बिजुली गाडी दर्ता भए । अमेरिकामा दुई लाख ९७ हजार, युरोपमा १० लाख ६० हजार वटा बिजुली गाडी त्यस वर्ष दर्ता भएको देखिन्छ ।

नेपालमा पनि बिजुली गाडीकाे चासो बढ्दै गए पनि सहजै चार्जिङ स्टेशन उपलब्ध हुन सकेको छैन । प्राधिकरणले पहिलो चरणमा देशभर निर्माण गर्न लागेको ५० चार्जिङ स्टेशनको काम अगाडि बढिरहेको छ ।

निजी क्षेत्रबाट हुन्डाई कम्पनीले देशभर ४० वटा चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रका गाडी बिक्रेता कम्पनीले आफ्नै सापेक्षतामा विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । वीपी राजमार्गमा चल्ने दिगो सवारीले आफैँ चार्जिङ स्टेशन निर्माण गरेको छ । निजी क्षेत्रले समेत चासो देखाएको अवस्थामा सरकारले नीतिगत रूपमा थप प्रस्ट पार्नुपर्ने आवश्यकता बढेर गएको छ ।

सरकारले भन्सार दर न्यून गरेको छ । तर सहजै चार्जिङ स्टेशन निर्माण गर्ने विषयलाई प्राथमिकतामा साथ अगाडि बढाउनुपर्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विद्युतीय स्कुटर निर्माण गरेर परीक्षण गरिसकेको छ । नास्टका प्रमुख वैज्ञानिक रवीन्द्र ढकालका अनुसार सरकारले केही नीतिगत विषयमा प्रस्ट पारेको खण्डमा पेट्रोलिय पदार्थको प्रयोग हुने गाडीलाई विस्थापन गर्न सकिन्छ । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया