एक डाक्टरको भरमा ५० शय्याको अस्पताल

 वैशाख ६, २०७९ मंगलबार १६:२७:५१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

पाल्पा – रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको सङ्ख्या दिनानुदिन थपिँदै गएको हो । ५० शय्याको अस्पताल एक डाक्टरको भरमा भन्दा पत्यार नलाग्न पनि सक्छ । 

यतिबेला जनशक्ति अभावमा एक डाक्टरको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत ६ मेडिकल अधिकृत तहका डाक्टरले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विजय परियारको भरमा उपचार सेवा चलिरहेको छ । 

‘जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ । गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, गर्भवती महिला, फिजियोथेरापी लगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु’, उहाँले भन्नुभयो । 

यहाँ एक हप्ताका अवधिमा मात्रै १५ झाडापखालाकै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ । अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृत डा. कपिल ज्ञवाली, डा. कुशल खनाल, डा. विकास शर्माले अध्ययन बिदा देखाउँदै यही वैशाख १ गतेदेखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले जनाएको छ । 

मेडिकल सुपरिन्टेन्डेन्ट डा. परियारले भन्नुभयो, ‘अस्पतालमा गएको चैत २९ गते तीन स्थायी दरबन्दीका चिकित्सकले अध्ययन बिदा पत्र र तीन जना करार सेवाका डाक्टरको राजीनामापत्र आएको छ, तर प्रशासनले भने स्थायी सेवाका डाक्टरलाई स्वीकृत गरेको छैन, त्यो पत्र माथिल्लो निकायमा पठाइएको छ, अहिलेसम्म सम्बन्धित निकायको राजीनामा स्वीकृति पत्र हामीलाई पनि प्राप्त भएको छैन, एकै पटक स्थायी दरबन्दीमा कार्यरत डाक्टरको राजीनामाले अस्पतालको सेवा प्रवाहमा समस्या पारेको छ ।’

करारमा कार्यरत तीन जना मेडिकल अधिकृत डा. साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा. आयुष पौडेल राजीनामापत्र बुझाएर वैशाख १ गतेदेखि अनुपस्थित छन् । अहिले अस्पतालमा तीन सय जनाभन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् भने आकस्मिक सेवामा ५० जनाभन्दा बढी नै छन् । एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. परियारको गुनासो छ ।  

रामपुर अस्पताल चार जिल्लाका नागरिकले उपचार सेवा लिने थलो हो । कालीगण्डकी बेसीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्व नवलपरासी (नवलपुर) का नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । तर जनशक्ति अभावमा एक जना डाक्टरले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ । 

जनशक्ति अभाव रहे पनि यहाँ रहेका स्वास्थ्यकर्मी २४ सैँ घण्टा बिरामीको सेवामा तल्लिन छन् । अस्पतालमा भर्ना भएर बस्दा राम्रो उपचार सेवा पाएको रामपुर नगरपालिका बाङ्गेपसल बस्ने ७४ वर्षीय कृष्णमाया श्रेष्ठ भन्नुहुन्छ ।

‘अस्पतालमा काम गर्ने डाक्टरले छोडेर गए भन्ने सुनेको छु, तर पनि यहाँ खट्नुभएका डाक्टरले रातदिन सेवा दिइरहनुभएको छ, श्वासप्रश्वाससम्बन्धी समस्या भएर भर्ना भएर बसेको छु, जनशक्ति नहुँदा पनि हामीले अहिलेसम्म सेवा राम्रै पाइएको छ’, उहाँले भन्नुहुन्छ । 

तत्कालका लागि चार जना मेडिकल अधिकृत तहका डाक्टरको व्यवस्थापन भएमा यहाँबाट दिने सेवा दुःखले भए पनि यथावत् दिन सकिनेछ । निर्वाचन आचारसंहिता लागू भइसकेको हुँदा पनि मुख्यमन्त्री कार्यालयबाट सहमति नभइकन कर्मचारी व्यवस्थापन गर्न समस्या छ । 

कर्मचारी व्यवस्थापनका लागि प्रदेश सरकार, मन्त्रालय, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय पाल्पामा पत्राचार गरिसकिएको र अहिलेसम्म वैकल्पिक व्यवस्थापनको विषयमा कुनै जानकारी नआएको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘करारमा कर्मचारी नियुक्ति गरेर भए पनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागिपरिरहेका छौँ, निर्वाचन आचारसंहित लागू भइसकेकाले बाधा पुर्‍याउँछ कि भन्ने छ, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सम्बन्धित निकायले वैकल्पिक व्यवस्थापनको लागि विशेष ध्यान दिनुपर्नेछ ।’ 

सरकारले चिकित्सकलाई अध्ययन बिदा दिँदै गर्दा उसले कार्यरत संस्थामा वैकल्पिक व्यवस्था नगरिकन बिदामा बस्ने परिपाटीले नागरिकले सास्ती खेप्नु परिरहेको छ । यस्ता उदाहरण दुर्गमका धेरै स्वास्थ्य संस्थामा भेटिन्छन् ।

स्थायी दरबन्दीमा कार्यरत कर्मचारीले आफूले पाउने अध्ययन बिदा आवश्यक परे पनि सम्बन्धित निकायले स्वीकृतविना संस्थालाई बाधा पर्ने गरी बिदामा बस्न पाइँदैन । स्थायी जागिरे भएको दुई वर्षको समयावधिपछि दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले अध्ययन बिदा पाउने व्यवस्था छ । त्यस कारण पनि यहाँको अस्पतालमा दुई वर्ष कम गरेपछि माथिल्लो तहको अध्ययनका लागि भन्दै चिकित्सक अध्ययन बिदामा जाने गरेका छन् । 

यस अस्पतालमा अहिले नौ जना स्थायीसहित जम्मा ७० जना कर्मचारी कार्यरत छन् । स्थानीय अन्तर्गत प्रशासनिक क्षेत्रमा प्रमुख एक, सहायक एक, चार मेडिकल अधिकृत, एक नर्सिङ कर्मचारी, लेखापाल एक, मेडिकल अधिकृत रेकर्डस् एक जना कर्मचारी छन् । बाँकी कर्मचारी करार प्रकृतिका छन् । 

मेडिकल सुपरिन्टेन्डेन्ट डा. बिनेश झा विगत दुई वर्षदेखि यहीँ अस्पताल मातहत तलब सुविधा लिने गरी अध्ययन बिदामा हुनुहुन्छ । यहाँको अस्पतालमा आउने चिकित्सक अध्ययन बिदा देखाउँदै जाने गरेका छन् । यो समस्या नागरिकले वर्षौँदेखि खेप्दै आइरहेका छन् ।

जनशक्ति अभावकै कारण शल्यक्रियामार्फत प्रसूति सेवा पनि ठप्प छ । शल्यक्रियाका लागि उपकरण भए पनि प्रयोगमा ल्याउन सकिएको छैन । यहाँ पाउने सेवा उपलब्ध नहुँदा सदरमुकाम तानसेन, पोखरा, बुटवललगायतका विभिन्न बजारका अस्पतालमा बिरामी जानुपर्ने समस्या छ ।

अस्पतालमा नौ विशेषज्ञ डाक्टरको दरबन्दी छ । प्रसूति, बच्चाबच्चीको उपचार सेवा, रेडियोलोजिस्ट (एक्सरे), जनरल फिजिसियन, एनसथेसियालोजिस्ट (अप्रेसन गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थोसर्जन, कन्सल्टटेन्ट सर्जन, कन्सल्टटेन्ट साइक्याट्रिक्स (दिमागसम्बन्धी) जस्ता विशेषज्ञ सेवा तोकिएको छ । तर दरबन्दीअनुसारका डाक्टरको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन । 

अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट) डाक्टरको दरबन्दी छ । पचास शय्याको सरकारी अस्पताल नामाकरण भए पनि १५ शय्याकै भवनबाट सेवा प्रवाह भइरहेको छ । गाउँमै दरबन्दी भएर पनि सेवा सुविधा नपाउँदा पटक–पटक अन्यत्र धेरै धनराशी खर्चिएर उपचार गर्न जानुपर्ने समस्या कायमै छ । 

५० शय्याकै भवनबाट अस्पताल सञ्चालन भएपछि नागरिकलाई एक तह सेवा लिन सजिलो पर्नेछ भने अर्कोतर्फ आर्थिक भार पनि पर्ने थिएन । रामपुर नगरपालिका क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएपछि नागरिकले उपचारमा राम्रो सुविधा उपभोग गर्न पाउनेछन् । 

औषधि उपचारका निम्ति विभिन्न सहरमा धाउने नागरिकले अस्पताल बनेपछि गाउँमै धेरै सेवा सुविधा पाउने अपेक्षा पनि लिएका छन् । २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भइ रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भइ सेवा दिँदै आएको यस अस्पताल २०७२ सालमा पचास शय्याका रूपमा स्तरोन्नति भइ अहिले अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ । 

सरकारको २२ करोड २२ लाख पाँच हजार रुपैयाँको अनुमानित लागतमा टेन्डर आह्वान भएकोमा रबिना कन्स्ट्रक्शन प्रालि काठमाण्डौसँग झन्डै  साढे १८ करोड रुपैयाँको लागतमा सम्झौता भइ भवन निर्माण भइरहेको छ । 

आर्थिक वर्ष २०७२/०७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको भवनको काम अन्तिम चरणमा पुगेको छ । २०७५ कात्तिका ६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरी निर्माण कार्य अघि बढाइएको छ । भवन अभाव पनि स्वास्थ्य सेवाको बाधक बनेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया