स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओ महानिर्देशकबीच भेट

 बैशाख ८, २०७९ बिहिबार १८:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ । 

मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि आज बिहीवार दिउँसाे काठमाण्डाै आइपुग्नुभएका डा. गेब्रेयससले स्वास्थ्य मन्त्रालयमै पुगेर मन्त्री खतिवडालाई भेट्नुभएको हो । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा. ग्रेबेयससलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै भेटवार्ताका क्रममा नेपालमा औषधि उत्पादनका लागि सहयोग गर्न महानिर्देशक गेब्रेयससलाई आग्रह गरिएको र उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको मन्त्री खतिवडाले बताउनुभयो ।

त्यसैगरी मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना र हेटौँडामा रहेको किटजन्य रोगको अध्ययन तथा तालिम केन्द्रको विकासका लागि नेपालको तर्फबाट कुरा राखिएको उहाँले जानकारी दिनुभयो । 

महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले भाेलि शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्ने कार्यक्रम रहेको जानकारी दिइएको छ । त्यसैगरी उहाँले टेकु अस्पतालमा रहेको ल्याब निरीक्षण गर्ने, पाटन हाई स्कुलको निरीक्षण गर्ने लगायतको कार्यक्रम रहेको जनाइएको छ ।

भेटवार्ताका क्रममा उहाँले कोभिड –१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भनी प्रशंसा गर्नुभएको मन्त्री खतिवडाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया