अर्थविद् भन्छन्, ‘मन्त्रालय र राष्ट्र बैंकले एक–अर्कालाई दाेष देखाएर अर्थतन्त्र सुध्रिन्न’

 बैशाख ८, २०७९ बिहिबार १९:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुन नसकेका कारण अर्थतन्त्रमा चुनौती आएको अर्थविद्हरूले बताएका छन् । आज बिहीवार एमाले निकट बुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थविद्हरूले अर्थतन्त्र सङ्कटतर्फ गइरहेको अवस्थामा सन्तुलनमा राख्नका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्ने बताएका हुन् ।  

कार्यक्रममा बोल्दै पूर्व अर्थ सचिव रामेश्वर खनालले राष्ट्र बैंक र अर्थ मन्त्रालयले मिलेर काम गर्न नसकेकाले अर्थतन्त्रमा केही समस्या आएको बताउनुभयो । उहाँले अर्थतन्त्र सङ्कटमा हुँदा होस् वा अर्थतन्त्र सहज अवस्थामा हुँदा हाेस् मौद्रिक निकाय र वित्तीय निकाय दुवैबीच अत्यन्त घनिष्ट सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंकले एक–अर्कालाई दोष देखाएर अहिलेको समस्या समाधान हुन सक्दैन ।’ 

श्रीलङ्कामा सरकारले वैदेशिक ऋणबाट लिएका आयोजनाहरू समयमा नै सम्पन्न नगर्दा त्यसबाट प्रतिफल आउन नसकेकाले अहिलेको अवस्था सिर्जना भएको पूर्व अर्थ सचिव खनालकाे भनाइ छ । नेपाल सरकारले पनि वैदेशिक ऋणबाट लिएका आयोजनाहरू समय अवधि लम्बिँदै गयो भने आउँदाे पाँच वा दश वर्षपछि श्रीलङ्काको जस्तै अवस्थामा पुग्न सक्ने चेतावनी उहाँले दिनुभयाे । 

उहाँले भन्नुभयो, ‘तत्कालै अर्थतन्त्र दुर्घटनामा पर्ने अवस्था छैन तर पनि केही कुरामा सचेत हुनुपर्छ । सरकारले वैदेशिक ऋणबाट लिएका आयोजनाहरू समयमा नै सम्पन्न गरेर त्यसबाट प्रतिफल आउने अवस्था सिर्जना गर्न सकेन भने पाँच वा दश वर्षपछि हामी श्रीलङ्काको जस्तै अवस्थामा पुग्न सक्छौँ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरबीचको विवादले बजेट निर्माण तथा मौद्रिक नीतिमा असर पर्ने सक्ने बताउनुभयो । उहाँले वित्तीय नीतिको निमित्त अर्थ मन्त्रालय एकदमै आधिकारिक र मौद्रिक नीतिको निमित्त केन्द्रीय बैंक आधिकारिक भएकाले समन्वय जरुरी रहेको बताउनुभयो ।

त्यस्तै पूर्वगभर्नर क्षेत्रीले पछिल्लो आठ महिनामा विदेशी लगानी र राजस्व बढे पनि पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तरलता अभाव हुनुको पछाडिको कारण के हो भने बैंकको ब्याज दर नीतिमा खास नीति यही हो भनेर जान नसक्नु हाे । कहिले भद्र सहमति भनिएको छ । सबैले निश्चित गरेको एउटा ब्याज दर यही हो भनियो । पछिल्लो समय ब्याज दर ५ प्रतिशतबाट ७ प्रतिशत पुगेको छ । यसले लागतमुखी अर्थतन्त्र हुँदै छ भन्ने कुराको सङ्केत गरेकाे छ ।’

पूर्वगभर्नर क्षेत्रीले पुँजीगत खर्च र बजारको तरलता अभावको समस्या समाधानका कुरालाई सकारात्मक रूपमा लिएर अघि बढ्न सकियो भने अर्थतन्त्रमा डराउनुपर्ने परिस्थिति सिर्जना नभएको बताउनुभयो । उहाँले नेपाल कृषिप्रधान देश भनिए पनि राष्ट्रिय अर्थ नीतिमा कृषिलाई प्राथकिता नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया