युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

 बैशाख ९, २०७९ शुक्रबार ८:१५:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ ।  

८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनकाे युद्ध सुरु भएयता तीन सय कराेड डलर बराबरकाे सैनिक सहायता दिइसकिएकाे बताइएकाे छ । 

यसैबीच अमेरिकी राष्ट्रपति जाे बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेकाे बताउनुभएकाे बीबीसीले जनाएकाे छ । 

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । आक्रमणको दुई महिना पुग्नै लागेको छ । रुसले हिजो बिहीवार युक्रेनको मारिओपाेल सहर कब्जा गरेको घोषणा गरेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपाेल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गर्नुभएको छ । यद्यपि रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै गाउँ कब्जा गरेको उहाँले स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि राखेको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया