नौ महिनामा २८ प्रतिशतले बढ्यो व्यापार घाटा, दुई खर्ब बराबरकाे पेट्रोलियम पदार्थ आयात

 वैशाख ९, २०७९ शुक्रबार १४:१४:५५ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख  रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गएकाे आर्थिक वर्षको त्यही अवधिमा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

चालु आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्षको त्यही अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख रुपैयाँभन्दा बढीको आयात भएको थियो । 

२८ प्रतिशतले बढ्यो व्यापार घाटा

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालु आवको नौ महिनामा साढे १४ खर्ब रुपैयाँभन्दा बढीकाे आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालु आवको नौ महिनामा नेपालले १३ खर्ब छ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको छ । गएकाे आवको त्यही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।

यस्तैगरी चालु आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गएकाे आर्थिक वर्षको त्यही अवधिमा १२ खर्ब छ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले दुई खर्ब बराबर रुपैयाँको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

नौ महिनाको अवधिमा नेपालले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासका लागि एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजलको आयात भएको छ । यस अवधिमा एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँ बढीको डिजेल र र ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँभन्दा बढीको पेट्रोलको आयात भएको हो ।

४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँभन्दा बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजार रुपैयाँको सोयाबिन तेल, ३२ अर्ब चार करोड ७८ लाख  रुपैयाँ बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख  रुपैयाँ बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालु आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट १४ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट नौ खर्ब १७ अर्ब २४ लाख रुपैयाँभन्दा बढीको आयात गरेको छ भने एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख रुपैयाँ बराबरको आयात भएको छ भने ६२ करोड २८ लाख ६२ हजार रुपैयाँको मात्र निर्यात भएको छ । चीनसँग मात्र दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख  रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया