पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने प्राधिकरणकाे चेतावनी

 वैशाख १४, २०७९ बुधबार १५:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले आज बुधवार सूचना निकालेर विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिइ टेलिफोन/इन्टरनेट/केवल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो ।

पोल भाडा बक्यौता रकम भुक्तानीका लागि वैशाखसम्मको समय तोकिएको भन्दै प्राधिकरणले तोकिएको समयमा सम्झौता गर्न, नवीकरण गर्न एवम् अहिलेसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ । वैशाखसम्म बक्यौता रकम भुक्तानी नगरे तार काट्ने चेतावनी प्राधिकरणले दिएको छ । केही सेवा प्रदायक संस्थाहरूले केही क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवा प्रदायक संस्थाहरूले सम्झौता नै नगरि विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको सूचनामा उल्लेख छ ।

प्राधिकरणले यसअघि पटक–पटक सार्वजनिक सूचना आह्वान गर्दै सेवा प्रदायक कम्पनीलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको छ । प्राधिकरणले २०७७ मा काठमाण्डाैलगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवा प्रदायक कम्पनीहरूले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन् । 

बढेको मूल्य फिर्ता नहुँदासम्म बक्यौता रकम भुक्तानी नगर्ने सेवा प्रदायक कम्पनीले अडान राख्दा विद्युत् प्राधिकरणले इन्टरनेटको तारसमेत काटेको थियो । इन्टरनेटको तार काटिएपछि पोल भाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयले सहसचिवको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । त्याे समितिले वृद्धि गरिएको भाडा समायोजन गरेर विवाद समाधान गर्नुपर्ने सुझाव दिए पनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया