बाग्लुङमा पानी माग्दै पूजा...

 वैशाख १५, २०७९ बिहीबार १४:३१:१८ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

बाग्लुङ - सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीवार ‘टापु’ पुगे । पानी परोस् भनेर प्रकृति र देउता पुजे ।

दुई हजार ३४० मिटर उचाइमा टापु पर्छ । त्यसलाई जङ्गलले घेरेको छ । बीचमा एउटा अजङ्ग परेको ठिन्केको रुख छ । त्यसको वरिपरि नौ वटा थान छन् । यसमा भीमसेन, इन्द्र देउतासहित प्रकृतिको पूजा हुन्छ । लामो खडेरी पर्यो र अन्नपात खेतबारीमै सुक्ने स्थिति आयाे भने गाउँलेले टापुको पूजालाई महत्त्व दिन्छन् । अहिलेको बेला ठ्याक्कै त्यस्तै छ । खडेरी लम्बिएपछि प्रकृतिसँग पानी माग्न पूजा गरिएको स्थानीयवासी बताउँछन् ।

वडा सदस्य लोकबहादुर थापाले बाउबाजेका पालादेखि नै ‘टापु पूजा’को चलन बसेको बताउनुभयो । 'बर्सेनिजसो यो पूजा चल्छ, खडेरी पर्दाको वर्ष त झन् महत्त्व दिएर गर्ने चलन', उहाँले भन्नुभयो ।

मङ्गलवार तीन जना पण्डितले टापुको पूजा उम्काए । तल नेटामा रहेको शिवको मन्दिरमा दुई जनाले पाठ गरेको र एक जनाले टापुमा पूजा चलाएको सदस्य थापाले जानकारी दिनुभयो । 'टापुमा पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने मान्यता छ, गाउँको पराम्पराजस्तो रहिआएकाले पूजाको चलन अझै छ', उहाँले भन्नुभयो ।

कतिपयले भने यस्तो मान्यतालाई अन्धविश्वासका रूपमा अर्थ्याउँछन् । पानी पर्ने–नपर्नेमा वैज्ञानिक कारण हुने भएकाले पूजा गर्दैमा प्रकृतिले पानी नदिने उनीहरुको तर्क छ । स्थानीयवासी मीना दर्जीले आफू सानै हुँदादेखि नै टापुको पूजाबारे थाहा पाएको बताउनुभयो ।

'कोरोनाले गर्दा दुई वर्षजति यो पूजा भएन, नत्र निरन्तर नै हुने गरेको छ', उहाँले भन्नुभयो । पौराणिककालमा टापु नजिकैको पाण्डवखानी भन्ने ठाउँमा पाँच पाण्डव बसेको किंवदन्ती छ ।त्यही कारण पाँच पाण्डवमध्येका एक भाइ भीमसेनको थान बनाएर टापुमा पूजा गर्ने चलन बसालिएको हो । थानमा कुनै काटमार नगरि रोटी, फूलप्रसादीले मात्र पूज्ने चलन छ । पूजाको खर्च पनि स्थानीयवासी आफैँले बेहोर्छन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया