स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात

 वैशाख १५, २०७९ बिहीबार १७:११:५६ | रासस
unn.prixa.net

‘ड्राइभर दाइलाई मन पर्ने टायर, 
गोरखकाली रबर उद्योग भएर’   

कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । देशमा गाडीको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय देशकै पहिलो त देशको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो । 

अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभइ आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृतप्रायः छ । फलस्वरूप देशमा टायर र रबरजन्य वस्तुको आयातमा अर्बौँ रकम विदेशिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नौ अर्ब नौ करोड रुपैयाँभन्दा बढी मूल्यमा टायर तथा ट्युब भित्रिएको देखिन्छ । वर्षमा करिब एक लाख २० हजार थान उत्पादन क्षमता भएको स्वदेशी रबर उद्योगले यस समयमा बर्सेनि ८८ हजार थान टायर तथा ट्युब उत्पादन गर्थ्याे र यहाँको बजारसहित तेस्रो देशमा समेत निर्यात हुने गरेको थियो । विभागको पछिल्लो विवरण अनुसार भने चालु आवको गएकाे चैत मसान्तसम्म करिब ६४ लाख २० हजार टायर तथा ट्युब देशमा आयात भएको देखिन्छ ।

२०४१ सालमा शिलान्यास भएर २०५१ सालदेखि उत्पादन सुरु गरेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । उद्योग स्थापना गर्दा ३८ प्रतिशत शेयर नेपाल सरकारको, २१ प्रतिशत शेयर स्थानीयवासीको र बाँकी अन्य बैंक तथा वित्तीय संस्थालगायतको स्वामित्व रहेको उद्योग अहिले बेसहाराजस्तै छ । देशको एकमात्र रबर उद्योग बन्द अवस्थामा छ भने भारतलगायत देशबाट टायरका साथै अन्य रबरजन्य वस्तु आयात गरेर आवश्यकता पूरा गर्न नेपाली बाध्य छन् । 

गोरखाको प्रसिद्ध गोरखकाली मन्दिरका नामबाट नामकरण गरिएको यस उद्योग गोरखा नगरपालिका मजुवा देउरालीमा छ । करिब ६६२ रोपनीमा फैलिएको उद्योग स्थापनाको १४ वर्षसम्म राम्रै अवस्थामा सञ्चालनमा रहे पनि त्यसको केही समयपछि बन्द हुँदै, खुल्दै गर्न थाल्यो र पछिल्लो समय पूर्णरूपमा बन्द छ । 

उद्योगले यस समयमा ट्रक, जीप तथा भ्यान, कारलगायतमा प्रयोग हुने विभिन्न प्रकारका टायर उत्पादन गर्ने गरेको थियो । स्वदेशी उद्योगले उत्पादनमा देखाएको क्षमता र गरेको उत्पादनले देश रबरमा आत्मनिर्भरको बाटोमा मात्र रहेन भारत, श्रीलङ्का तथा बङ्ग्लादेशमा समेत गोरखकाली छापअङ्कित टायर तथा ट्युब निर्यात हुने गरेको थियो तर उद्योग स्थापनाको ३० वर्ष नपुग्दै निर्यात त के उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा आइपुग्यो । 

विभागको तथ्याङ्कअनुसार नौ महिनामा सबैभन्दा बढी टायर र ट्युब भारतबाट आयात भएको देखिन्छ । विवरण अनुसार चालु आवको चैत मसान्तसम्म भारतबाट मात्र ४४ लाख ४१ हजारभन्दा धेरै थान तथा १७ लाख ४८ हजार रबरजन्य वस्तु आयात भएको देखिन्छ । यसको आयात मूल्य आठ अर्ब २३ करोड ८९ लाख रुपैयाँभन्दा धेरै छ । आयातबाट सरकारले दुई अर्ब ८० करोड ६३ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको देखिन्छ ।

त्यस्तै चीनबाट ३३ करोड ९५ लाख रुपैयाँभन्दा धेरैको रबरजन्य वस्तु आयात भएको छ । थाइल्यान्डबाट ३७ हजार ८६३ थान टायर तथा ट्युब २० करोड ५८ लाख २६ हजार रुपैयाँ आयात मूल्यमा भित्रिएको विवरण छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा भारत, चीन, थाइल्यान्ड, ताइवान, इन्डाेनेशिया, जापान, अमेरिकालगायत देशबाट रबरका टायर, ट्युब तथा रबरका अन्य वस्तु आयात हुने गरेको देखिन्छ । 

राष्ट्रिय अर्थतन्त्रको विकासका लागि देशको उद्योग क्षेत्रका साथै स्रोतको संरक्षण र प्रवर्द्धन गरी नेपाली श्रम, सीपलाई प्राथमिकतामा राख्नु जरुरी देखिन्छ । यसै विषयमा आव २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारी स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योग एवम् संस्थानलाई निजी क्षेत्रको समेत सहभागितामा उपयुक्त व्यवस्थापन, विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा पुनःसञ्चालन गरिने उल्लेख गरिएको थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा वैदेशिक पुँजी तथा प्रविधिको लगानी बढाउँदै पूर्वाधार विकासमा प्रोत्साहन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ । यी अध्ययनहरूका अनुसार चुलिँदो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्रमा पार्ने असर कम गर्न देशका उद्योगको सुदृढीकरण तथा प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्नेछ । त्यसैगरी रुग्ण उद्योगअन्तर्गत परेका उद्योगलाई आवश्यक सहयोग, सुविधासहित पुनरुत्थान गरी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने तथ्य रुग्ण उद्योगको व्यवस्थापनका लागि सुझाव दिन २०७७ साल साउनमा गठित समितिसमेत छ । यिनै तथ्य र राज्यको आवश्यकताका आधारमा गोरखकाली रबर उद्योगलाई पनि पुनरुत्थान गरी बर्सेनि बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै रोक्नुपर्ने सबैको सुझाव छ ।  

तस्बिर : रासस

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया