अमेरिका–नेपाल सम्बन्ध आउँदाे दशकौँसम्म पनि मित्रवत् रहन्छ : विदेशमन्त्री ब्लिङ्कन

 वैशाख १६, २०७९ शुक्रबार १७:११:४७ | रासस
unn.prixa.net

वाशिङ्टन डीसी – अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका नेपाल सम्बन्ध आउँदाे दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ । उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो । 

विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्विटर ह्यान्डलमा लेख्नुभएको छ, ‘हामीहरु आज अमेरिका नेपालको कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष मनाइरहेका छौँ । यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ ।’ 

नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसबेला नेपालको राजधानी काठमाण्डौमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो । 

गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक,  शैक्षिक लगायतका विविध क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ । दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कुटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ । 

नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट एच डेलेसीले अमेरिका र नेपालबीच पारस्परिक सम्मान र स्थिर कुटनीतिमा विगतका वर्ष व्यतित भएको टिप्पणी गर्नुहुन्छ । दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष पुगेका अवसरमा कुरा गर्दै राजदूत डेलेसीले भन्नुभयो, ‘दुई देशबीच पारस्परिक सम्मानका साथ विभिन्न विषयमा सहकार्य हुँदै आएको छ ।’   

विगत ७५ वर्षमा अरू देशसँग अमेरिकाको सम्बन्ध उतारचढावपूर्ण रहे पनि नेपालसँगको सम्बन्ध भने पारस्परिक सम्मान र विश्वासमा अडेको उहाँको टिप्पणी छ । डेलेसी अगाडि थप्नुहुन्छ, ‘अमेरिकाले सधैँ नेपाललाई एक समृद्ध, प्रजातान्त्रिक अभ्यासमा अभ्यस्त र नागरिकको आवाज सुनिने देशका रूपमा देख्न चाहेको छ ।’ 

राजदूतबाट अवकाश पाइसकेपछि नेपालको आर्थिक सामाजिक क्षेत्रको विकासमा मुनाफारहित संस्थामार्फत काम गर्दै आउनुभएका पूर्वराजदूत डेलेसीले नेपाल भूगोलमा सानो भए तापनि अमेरिकाको जस्तै विविध भाषा र संस्कृतिको धरोहर रहेको बताउनुहुन्छ । 

अमेरिकी निकायले नेपाललाई हेर्ने दृष्टिकोणमा कसैको कोण या मान्यताबाट नभइ दुई देशको पारस्परिक हितबाट संवाद गर्ने अभ्यास रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ । उहाँले भन्नुभयो, ‘थुप्रै मानिसले यस विषयमा जिज्ञासा राखेका थिए, यसमा मेरो भनाइ यति छ, नेपाललाई अमेरिकाले कसैको आँखाबाट हेर्दैन ।’ नेपाल र अमेरिकाको सम्बन्ध विगतमा मलेरिया उन्मूलनदेखि सुरु भएर अहिले विकास निर्माणमा नेतृत्वदायी भूमिकाका साथ विकास केन्द्रित अवधारणामा अगाडि बढेको छ । अमेरिकी कुटनीतिको लक्ष्य सुरक्षा, समृद्धि, प्रजातन्त्र र विकासमा केन्द्रित रहेकामा नेपालमा प्रजातान्त्रिक अभ्यासमार्फत् विकासका माध्यमबाट नागरिकको जीवनस्तर माथि उकास्न केन्द्रित रहेको राजदूत डेलेसीको टिप्पणी रहेको छ । 

अमेरिकाले पछिल्ला वर्षमा खासगरी भूकम्पका बेलामा र कोरोना महामारीका रूपमा भएका अकल्पनीय क्षतिको न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । भूकम्पपछि नेपाललाई १३ करोड डलर दिने घोषणा गरेको अमेरिकाले पछि १९ करोड डलर सहयोग गरेको थियो, भूकम्पपछिको पुनर्निर्माणमा ३६ वटा स्कुल पुनर्निर्माणमा अमेरिकाको सहयोग रहेको थियो । 

कोरोनाविरुद्धको खोप दिनेमा पनि अमेरिका अग्रपङ्क्तिमा नै रह्यो । कोरोना भाइरसविरुद्धको ३७ लाख ९८ हजार आठ सय मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत ५० करोड डलर अनुदानको सम्झौता भएर काम अगाडि बढेको छ । नेपालको वैदेशिक सहायताको इतिहासमा अनुदानका रूपमा एकै पटक प्राप्त भएको यो रकम सबैभन्दा धेरै हो ।

नेपाल र अमेरिकाले संयुक्त राष्ट्र सङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकलगायतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा सहकार्यसमेत गर्दै आएका छन् । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको छ । सन् २०१६ मा अमेरिकाले नेपालको निर्यातलाई प्रोत्साहन गर्न व्यापार सहुलियत कार्यक्रमसमेत उपलब्ध गराएको छ । 

नेपाल र अमेरिकाबीच उच्चस्तरको भ्रमण आदानप्रदानले पनि निरन्तरता पाएको छ । केही वर्ष अगाडि तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गर्नुभएको थियो । भर्खरै मात्र अमेरिकी सांसदहरुको टोलीले नेपाल भ्रमण गरी द्विपक्षीयहितका विषयमा छलफल गरेको छ । 

नेपालबाट बर्सेनि अध्ययनका लागि अमेरिका आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । सन् २०२०–२०२१ मा नेपालबाट ११ हजार एक सय ७२ जना विद्यार्थी अध्ययनका लागि अमेरिका आएका थिए । 

अमेरिकामा नेपाली समुदायको उपस्थित बढ्दै गएको छ । यसबाट पनि दुई देशबीच नागरिक तहमा पनि सम्बन्ध विस्तार भइ थप सौहार्द बन्दै गएको भन्न सकिन्छ । पिस कर्पसमार्फत अमेरिकाबाट स्वयंसेवक गइ नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा सहयोग गर्ने गरेका छन् । 

उहाँहरू नेपालीको इमानदारिता र आतिथ्य प्रदान गर्ने कुरालाई मुख्यरूपमा सम्झना गर्न चाहनुहुन्छ । आजभन्दा झन्डै ६० वर्ष अगाडि नै नेपालको ग्रामीण परिवेशमा पुगेर उनीहरूसँग भिजेर शिक्षा स्वास्थ्यका क्षेत्रमा काम गर्ने स्वयंसेवकले अमेरिकी सीप र प्रविधि रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

अमेरिकामा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थी हुन् या अमेरिकामा नै बसेर आफ्नो योग्यता क्षमताले काम गरिरहेका हुन् उनीहरूले मातृभूमिको विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका छन् । कोरोना महामारीका बेलामा पनि उनीहरूले आर्थिक तथा प्राविधिकरूपमा मातृभूमिका लागि सघाएका थिए । भूकम्पको बेलासमेत यहाँ रहेका नेपालीले रकम सङ्कलन गरेर राहत वितरण गर्न पहलकदमी लिएका थिए । 

अमेरिकामा जो बाइडेनले राष्ट्रपतिको बागडोर सम्हालेपछि बेलायतमा भएको जलवायु परिवर्तनको विश्व सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएको थियो । यसैगरी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग गत मार्च १ मा टेलिफोन संवादसमेत गर्नुभएको थियो । 

त्यस अवसरमा नेपाल र अमेरिकाबीच कोरोना महामारीपछिको पुनर्निर्माण र जलवायु असरको सङ्कटका बारेमा सामूहिक कार्य गर्ने सहमति भएको बताइएको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया